गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनलका खेलहरु हुने

-


     पोखरा क्लिक     
     जेठ २६ गते २०८१ मा प्रकाशित


पोखरा २६, जेठ,


पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) सेमीफाइनलका खेलहरु हुने भएका छन्। प्रदेश खेलकुद परिषद गण्डकीको र गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै आइतबार दुई वटा सेमिफाइनलका खेलहरु हुने भएको संघ गण्डकीका महासचिव बिनोद गुरुङले बताउनु भयो ।

पहिलो सेमीफाइनलमा कास्कीले म्याग्दीसंग सामना गर्नेछ भने दोश्रो खेलमा बागलुङले तनहुँसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध बनायो । निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिए पछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।
निर्धारित समयमा बलियो मानिएको स्याङजालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाउनु भयो भने ठिक तीन मिनेट पछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थप्नु भयो । पहिलो हाप पछि स्याङजा खेलमा फर्कियो । स्याङजाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याउनु भएको थियो ।


यता कास्कीले आफ्नो होम ग्राउण्डको फाइदा उठाउँदै नवलपुर विरुद्धको खेल ४–० को जित निकाल्यो । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुर विरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिलाउनु भयो भने अभिषेक थापाले खेलको दोस्रो हाफमा व्यक्तिगत दुई गोल गर्नु भयो । उहाँले ४५ औं र ४८ औं मिनेटमा गोल गरे भने ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गर्नु भयो ।

आयूष खड्काको ह्याट्रिकमा पर्वत विरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयूषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गर्नु भएको होे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौथो गोल थपे पछि बागलुङले एकतर्फी ४ गोल अन्तरले जित हात पारेको हो ।

शनिबार नै सम्पन्न भएको अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङ विरुद्धको खेलमा ५–० को गोल अन्तरले जितेको छ । गोरखा विरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्त बहादुर गुरुङको ह्याट्रिक मद्धतले तनहुँले जित हात पार्न सफ भयो । उहाँले खेलको १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरी ४ गोल गर्दा सौगात गुरुङले खेलको ३३ औं मिनेटमा एक गोल गर्नु भएको थियो ।


प्रतियोगितामा उपाधि बिजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुने भएको छ ।