पोखराको श्रमाधान रोजगार मेलामा ५ हजारले अवलोकन गरे, केहीलाई रोजगारको अवसर

-


     पोखरा क्लिक     
     जेठ २२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २२, जेठ,

पोखरामा मंगलबार सम्पन्न भएको श्रमाधान रोजगार मेलामा ५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा दुई दिन संचालन भएको उक्त मेलामा ५ हजार बढीले अवलोकन गर्दा विभिन्न व्यवसायीक प्रतिष्ठानहरुले ३ सय ५८ जनालाई रोजगारको अवसर दिने भएका छन्।

श्रमिक र रोजगारदाताहरुलाई जोड्न योजना सहित सुरु भएको उक्त मेलामा पोखराको घरना ग्रुप लक्ष्मी हाउस, नेपालकै चर्चीत घरना समुह सि.जी.ग्रुप, सुर्य नेपाल, होंसि सिमेन्ट, रोजगार डटकम लगायतकाले रोजगारको खोजि गरेको श्रम रोजगार कार्यालय पोखराका प्रमुख सुरेस ढकालले बताए ।

विभिन्न व्यवसायीक कम्पनीहरु सहित होटल क्षेत्रमा सबै भन्दा बढी कामदारको माग भएको प्रमुख ढकालले दाबी गरे । पोखरा ६ बुलौदीमा रहेकोे पोखरा इभेण्ट सेन्टरमा मंगलबार सम्पन्न भएको उक्त मेलामा ५ हजार भन्दा बढीले मेलाको अवलोकन गरेको उनले पोखराक्लिकलाई जनाए ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय–गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सह आयोजना र होटल संघ नेपाल (हान) को संयोजनमा उक्त मेला भएको हो ।

मेलाले रोजगारीको वातावरण बनाउँदै निजी क्षेत्रमा रोजगारी सृजना तथा प्रबद्धन गर्न आवश्यक सीप विकासमा सहयोग पुग्ने, दक्षता अभिवृद्धि गर्दै रोजगारीको खोजीमा रहेकाहरुलाई सीप र रोजगारसँग जोड्ने बातावरण तयार गर्ने श्रम रोजगार कार्यालय पोखराका कारखाना निरिक्षक बलराम कुसवाहले बताए । मेलामा सरकारी ८ अन्य ३४ वटा निजी क्षेत्रका गरी ४२ स्टलहरु रहेका थिए ।

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेश निर्माण गर्ने, बेरोजगार युवाहरुको मागहरु ज्ञान, सीप र क्षमताको आधारमा संकलन गर्ने, रोजगारदाताहरुको सुचीकरण र रोजगारीका अवसरको पहिचान गर्ने गरि आन्तरिक रोजगार प्रबद्र्धन गर्न सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ ।

आन्तरिक रोजगारी प्रवद्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकुल बातावरण सृजना गने उदेश्य सहित नेपाल सरकारले देशका सबै सात प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने कार्यक्रम अनुसार पोखरामा गण्डकी प्रदेश स्तरिय मेला भएको हो । मेलाले श्रमिक तथा रोजगारदाताहरुलाई जोड्ने, रोजगारदाताहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरुलाई एकै ठाँउमा ल्याएर नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सृजनागर्ने उदेश्य समेत मेलाको रहेको आयोजकले दाबी गरेको छ ।



This will close in 20 seconds