दीननाथ बराल,
पोखरा २२, जेठ,
पोखरा आउने अधिकांश पर्यटकहरु पद यात्रामा जान चाहेका हुन्छन यद्यपी धेरै ठाँउका पद मार्गहरु मासिदै सडकमा परिणत भएको अबस्थामा पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको किनारमा पर्यटकहरुको लागि गन्तव्य बनेको छ । भ्यू फेवा, राउन्ड फेवा पदमार्ग नाम दिइएको उक्त पदमार्ग हालै संचालनमा आएसंगै पोखराको मुख्यबजार देखि नजिक रहेको उक्त पदमार्गको अब प्रबद्र्धन गरी पोखरा आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई त्यहाँसम्म पुर्याउन सके पोखरामा पर्यटकको एक दिनको बसाई अवधि लम्बिने भएको छ ।
गण्डकी प्रदेशको राजधानि समेत रहेको पोखरामा आन्तरिक तथा बाह्यि पर्यटकहरुको आगमन हुने हँुदा छोटो दुरीको पदयात्रा गर्ने पर्यटकहरुको लागि पोखरा २२ मा पर्ने अनदु देखि ड्यामसाइड क्षेत्रको फेवाताल किनारामा पदमार्ग निर्माण भएसंगै स्थानियहरु समेत खुसि भएका छन् । पोखरा १७ को ड्यामसाइडको वनस्पति पार्कबाट अनदुसम्म रानीवनमा पर्ने उक्त पदमार्ग करिब ४ किलोमिटरको रहेको छ ।
न उकालो नत ओरालो, भिर पाखा र प्रचण्ड गर्मीमा पनि पद यात्रा गर्न सकिने फेवातालको किनार रानी वन हुदै ड्यामसाइड देखि अनदुसम्म करिब ४ किलोमिटरको पदमार्ग हाल पहिलो चरणको तयार भएको हो । छोटो दुरीको पदमार्गको सोमबार पर्यटन व्यवसायी, पर्यटक, पत्रकार विभिन्न संघ संस्थाका पदाधिकारीले स्थलगत अवलोकन गरेका छन् । अन्नपूर्ण आरोहण दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
पोखरालाई आधार बनायर हिमाल आरोहण देखि पदमार्गमा जानेहरुको पूर्व तयारी स्वरुप उक्त छोटो दुरीको पदमार्ग एक कोषेढुंगा सावित हुन सक्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताए । लामो दुरीको पद यात्रा गर्न नसक्नेहरुको लागि पोखराबाट निकै नजिक फेवाताल किनारमा रहेको उक्त पदमार्ग निकै उत्कृष्ट भएको उनले दाबी गरे । भ्यू फेवा, राउन्ड फेवा पदमार्गको उचित प्रचार प्रसार गर्न सके यसबाट पोखरामा पर्यटकहरुको एक दिनको बसाई अवधि लम्बाउन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।
उकालो र ओरालो भन्दा पनि ताल किनारामा उक्त पद मार्ग भएकोले प्रायः सबै उमेर समुहका व्यक्तिहरुको उत्कृष्ट पदमार्ग हुन सक्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउन उक्त पद मार्गले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
हाल निर्माण भएको उक्त पदमार्ग करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बरालले बताए । आफुहरुले फेवाताल किनारमा ड्यामसाइड देखि रानीवन हुदै, अनदु, रातमाटा, शसर्को हुदै खपौदीसम्म जोड्न करिब ९ किलोमिटरको पदमार्गको अवधारणा अघि सारेको बताए । आउदो बर्षमा आफुहरुको योजना अनुरुप उक्त पद मार्ग पूरा गर्न करिब १ करोड बजेट आवश्यक भएको उनले जनाए । पोखराको मुख्य बजार देखि नजिक भएर पनि सामान्य कच्ची बाटो शान्ति स्तुपाः देखि अनदुसम्म जोडिएको छ । गुरुङ बस्तीको बाहुल्यता रहेको अनदुका स्थानिय बासिन्दा पोखराको मुख्य बजारमा आउदा डुंगाबाट सिधै लेकसाइड तथा ड्यामसाइड आउन सकिन्छ भने शान्ति स्तुपा बाट जादा कच्ची सडक मार्ग हुदै पोखराको मुख्य बजारमा आउन सकिन्छ ।
गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजना गरेकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । प्रदेशको पर्यटन प्रबद्र्धन गर्ने छोटो पदमार्गको रुपमा आफुहरुले भ्यू फेवा, राउन्ड फेवा पदमार्गको प्रबद्र्धन गर्न खोजेको उनले पोखराक्लिकलाई जनाए ।
आफ्नो गाँउ फेवाताल पारी भएर पनि बक्तीमुनिको अध्यारो रहेको उल्लेख गर्दै पदमार्ग उपभोक्ता समितिका अध्यक्ष तोपेन्द्र गुरुङले अब भने आफुहरुमा आशा पलाएको बताए । हावाहुरी र बढी बर्षा हुदा तालवारी पारी गर्नु निकै जोखिमपूर्ण भएको अबस्थामा पद मार्ग बन्नुले आफुहरुलाई बैकल्पिक बाटो समेत भएको उनले जनाए ।
पदमार्ग निर्माणसँगै पोखरामा आएका जो कोही पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखरा बजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने र यो उत्कृष्ट गन्तव्य हुने टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले दाबी गरे । पोखराको मुख्यबजार क्षेत्रबाट नजिक रहेको यस पदमार्ग गर्दा एक घण्टा डुंगा सयर देखि ३÷४ घण्टाको पद यात्रा हुने उनले जनाए । रानीवनमा विभिन्न प्रकारका चराचुरुङगी देखि विभिन्न वनस्पत्तीहरु अवलोकन गर्न पाइने अर्को बिषेशता यस पदमार्गमा रहेको छ ।