पत्रकार हरिहर र श्रीराम पुरस्कृत हुदैं

-


     पोखरा क्लिक     
     जेठ ८ गते २०८१ मा प्रकाशित


नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् ।

पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा गठित छनोट समितिले पत्रकार हरिहरको नाम सिफारिस गरेको थियो । समितिकोसदस्यमा कृष्णप्रसाद बास्तोला र रविन्द्र अधिकारी सदस्य थिए ।

आर्थिक पत्रकारिता पुरस्कारका लागि छनोट भएका पत्रकार श्रीराम सिग्देललाई नगद २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् । नवराज सुवेदी संयोजक, टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ सदस्य रहेको छनोट समितिले उनको नाम सिफारिस गरेको थियो ।

२०५४ सालमा आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल अहिले फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमको सहसम्पादक छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष सिग्देल नेपाल पत्रकार महासंघ कास्कीको सहसचिवको जिम्मेवारीमा छन् ।

उनीहरुलाई जेठ १२ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा नेपालका संस्थापक राष्ट्रपति रामवरण यादवको उपस्थितीमा सम्मान गरिने नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले जानकारी दिए ।