
वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ ।
पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ फिजिसियन डा र्सिजना शर्माले यी रोगबारे प्रकाश पारिन् । उनले सही खानपान, सही जीवनशैली र तनावमुक्त जीवनले धेरै नसर्ने रोग लाग्ने नदिने उल्लेख गरिन् ।
बेला बेलामा नियमित स्वास्थ्य जाँच गर्न र समस्या आइपरे विशेषज्ञको परामर्शमा औषधोपचार गर्न उनको सुझाव छ । कार्यक्रममा प्रदेश सांसद भीम कार्कीले बद्लिएको जीवनशैली र खानपानका कारण नसर्ने रोगहरु बढ्दै गएको जनाए । उनले समस्यै नभए पनि कमसेकम वर्षमा एक पटक नियमित चेकजाँच गर्ने प्रणाली बसाउन सके धेरै समस्याबाट मुक्ति पाइने जनाए । पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडा कार्यालयले नागरिकलाई स्वस्थ्य बनाउन सचेतना, शिविर, पोषण प्याकेज जस्ता कार्यक्रम ल्याएको जनाइन् । उनले भनिन्, ‘नागरिक स्वस्थ नभएसम्म समृद्धि र विकास सम्भव हुँदैन । त्यसैले वडाले नागरिकको जाँच गरिदिएको हो । सहरी स्वास्थ्य केन्द्रबाट गर्भवतीलाई पोषण प्याकेज पनि दिइरहेका छौं ।’
पोखरा १७ ले हिमालय आँखा अस्पतालमा मोतियाविन्दुको शल्यक्रियाका लागि पनि सघाइरहेको छ । आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाले वडाले सहायता दिने गरेको छ । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले युआरएले केही क्षेत्रमा अगुवाइ गरिरहेको जनाए ।
स्थापनादेखि नै कास्की र आसपासका जिल्लामा विभिन्न संघ, संस्थासँग सहकार्य गरी युआरएले शिविर गर्दै आएको छ ।
शनिबारको शिविर १ सय ७० औं हो । युआरएल बिरौटा डाइग्नोस्टिक प्रालिका अध्यक्ष विमला भण्डारीले नाफामुखीभन्दा पनि सेवामुखी भई युआरएलले सेवा प्रदान गरिरहेको जनाइन् । अध्यक्ष भण्डारीले स्थानीय तहरुको बजेट नै छुट्याएर नागरिकको स्वास्थ्य जाँच शिविर गर्नु प्रशंसनीय भएको उनको भनाइ छ । कार्यक्रममा पोखरा १७ का वडा सदस्य शिवराम भण्डारी, वडा सचिव प्रमिला सुवेदी लगायतले बोलेका थिए ।
पोखरा ८ मा २ सय ज्येष्ठ नागरिकको जाँच
पोखरा महानगरपालिका वडा नम्बर ८ मा वडा कार्यालय र ज्येष्ठ नागरिक मञ्चले संयुक्त रुपमा शनिबार निशुल्क रक्तजाँच शिविर आयोजना गरे । शिविरमा दुई सय पाँच ज्येष्ठ नागरिकको सित्तैमा मधुमेह, युरिक एसिड र खराब बोसो (टिजी) जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो एक सय ७२ औं शिविर हो ।

कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले ज्येष्ठ नागरिकमैत्री सेवा दिइरहेको जनाउँदै त्यसको दायरा अझै बढाएर स्थानीय सरकारको अनुभूति दिने वाचा गर्नुभयो । स्वास्थ्य चौकी पोखरा २५ प्रमुख पुष्पराज सुवेदीले ज्येष्ठ नागरिकलाई विभिन्न कारणले टोल टोल वा स्थानीय रुपमै सेवा जरुरी हुने र त्यसलाई पोखरा महानगरले सुरुआतसमेत गरिसकेको जनाए ।
युआरएल हस्पिटलचोकका सञ्चालक मणि न्यौपानेले केही नसर्ने रोगहरु अन्तर्सम्बन्धित रहेको र सँगसँगै आउने भएकाले जीवनशैली, खानपान, पूर्वसावधान र उपचारले जीवन सहज बनाउने उल्लेख गरे । ‘सुगर, प्रेस, युरिक एसिड, थाइराइड, कोलेस्ट्रोल एकै घरका ५ दाजुभाइ हुन्,’ उनले भने, ‘आउन थालेपछि यी पाँचै दाजुभाइ सँगै आउन सक्छन् । बेलैमा पूर्वसावधानी, बेला बेलामा जाँच गर्ने र समस्या आइहाले उपचार गरिहाल्नुपर्छ ।’ मञ्चका अध्यक्ष शिवप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सहरी स्वास्थ्य प्रवद्र्दन केन्द्र पोखरा ८ का डा रीता पराजुली, युआरएलका सदस्य निर्मल न्यौपाने लगायतले बोलेका थिए ।