
दीननाथ बराल,
पोखरा ३०, वैशाख,
पोखराको फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु भएको छ । पोखरा–१८ खपौदी ढल्केबर स्थित फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी“ भन्ने मुल नाराका साथ फेवातालको मुहानबाट जलकुम्भी झार सफाइ अभियान आइतबारबाट सुरु भएको हो ।

नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनु भएको राम बहादुर पौडेलको अध्यक्षतामा भएको सफाई अभियानमा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति एसपी अरुण पौडेल शर्मा सहितको टोलीले सफाई अभियानको सुरुवात गर्नु भएको हो । हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला हुन गएकाले यो बर्ष बैशाखको अन्तिम साता शुरुआत गरिएको संयोजक पौडेलले जनाउनु भयो । शुरुआतका दिनमा सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समुह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सफाइ अभियानमा सहभागि हुनु भएको थियो । भोलि देखि जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले बताउनु भयो ।
उक्त कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्ष सहित रेवान, विभित्र समुहका अभियान्ताहरु, आमा समुहहरु , जलहारी समुदाय, पर्यटन ब्यावासायीहरु, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरी लगायत स्थानीय र संचारकर्मी गरि करिब ३०० जनाको सहभागिता रहेको थियो । पोखराको फेवातालमा प्रदुषण बढ्दै जादा जलकुम्भी झार समेत फैलिदै जाने हुदा हिउदको समय चैतमा सानै बिरुवाकै अबस्थामा फेवातालको मुहानबाट हटाउनुपर्ने विज्ञहरुले बताउदै आउनु भएको छ ।
वैशाख, जेठमा उक्त झार बढ्दै जादा हटाउन निकै कठिन र धेरै जनशक्ति लाग्ने भएको डुंगा व्यवसायीहरुले बताउनु हुन्छ । पोखरा महानगरले उक्त अभियानमा सहयोग गर्दै आएको छ ।