कास्कीका सिडिओ घिमिरेको जोडीलाई खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिताको उपाधि

-


     पोखरा क्लिक     
     वैशाख २२ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २२, वैशाख,


खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगितामा कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरे र राष्ट्रिय खेलकुद परिषदका सुदिप योन्जनको जोडिले उपाधि जित्नु भएको छ । खेलकुदको शहर पोखरामा शनिबार भएको फाइनल खेलमा सिडिओ घिमिरे र योन्जनको जोडीले विनोद अधिकारी र बासु कलाउनीको जोडीलाई २१—१५, १६—२१ र २१—१९ को सेटमा पराजित गर्दै उपाधि जित्नु भएको हो । नेपालमै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिता कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगितामा विजेता जोडीले प्रथम पुरस्कार स्वरुप ५० हजार उपविजेता हुनेले ३० हजार प्राप्त गर्नु भएको हो ।

त्यसै गरी जनप्रतिनिधि तर्फ भएको खेलमा गण्डकी प्रदेशका सांसद पन्चराम गुरुङ र राम राईको जोडिले धार्दिङका राजकुमार श्रेष्ठ र मनोज तामाङको जोडिलाई २१—८, २१—११ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्नु भएको संघले पोखराक्लिकलाई जनाएको छ । नेपाल शीर्ष २० तथा बिना विभागिय पुरुष खुल्ला डबल्स तर्फ कास्कीका बिशाल खड्का र विधान अधिकारीको जोडिले वुटवलका विवेक न्यौपाने र बलराम क्षत्रीको जोडीलाई २१—१८, २१—१८ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गर्नु भएको हो । पुरुष खुल्ला डबल तर्फको प्रतिष्प्रर्धाको विजेता जोडीले प्रथम पुरस्कार स्वरुप ५० हजार उपविजेता हुनेले ३० हजार प्राप्त गर्नु भएको हो । त्यसै गरी जनप्रतिनिधिहरु बिच बिजेताको जोडिले प्रथम, दोश्रो क्रमशः ५० र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भयो ।


त्यसै गरी प्रतियोगितामा जुनियर खेलाडीहरुको प्रोत्साहनको लागि भएको १५ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१५) महिला खुला एकल तर्फको प्रतियोगितामा कास्कीका दिलासा रानाले उपाधि जित्नु भएको छ । फाइनल खेलमा रानाले निभा राइलाई २१—१०, २१—८ को सेटमा पराजित गर्नु भएको हो । प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार पुरस्कार प्राप्त गर्नु भएको हो ।

४५ वर्ष माथि उमेर समुहको भेट्रान्स खुला पुरुष डबल तर्फ कास्कीका शम्भु कुमार श्रेष्ठ र राजेश कुमार गुरुङको जोडिले विशाल हिराचन र डोलराज आलेको जोडीलाई २१—१७, २१—१९ को सेटमा पराजित गरी उपाधि जित्नु भएको हो । विजेताको जोडीले ४० हजार, उपविजेताले २५ हजार प्राप्त गर्नु भएको हो ।

त्यस्तै ५० वर्ष माथि उमेर समुहको भेट्रान्स खुला पुरुष डबल तर्फ कास्कीका डम्बर बहादुर पुन र चन्द्र गिरी नगरपालिकाका हरि खत्रीको जोडीले शुसिल कुमार श्रेष्ठ र नर बहादुर गुरुङको जोडिलाई २१—१२, २१—१४ को सेटमा पराजित गरी उपाधि जित्नु भएको हो । विजेताको जोडीले ४० हजार, उपविजेताले २५ प्राप्त गर्नु भयो ।

उक्त प्रतियोगिता नेपालमै पहिलो पटक भएकोे संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले दाबी गर्नु भयो । प्रतियोगितामा १२ जिल्लाका करिब २ सय जना कर्मचारी, जनप्रतिनिधि सहित खेलाडीहरुको सहभागिता भएको संघका सचिव फडिन्द्र तिमिल्सिनाले पोखराक्लिकलाई बताउनु भयो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता भएको हो ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, प्रदेशका मुख्य सचिव लक्ष्मी कुमारी बस्नेत, गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री पन्चराम गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

आधारभूतस्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्धि गराउने उद्देश्य साथ उक्त प्रतियोगिता गर्न लागिएको उपाध्यक्ष बिशाल खड्काले बताउनु भयो । प्रतियोगिताले कर्मचारी तथा जनप्रतिनिधि तहमा पनि खेलको सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको अर्को उपाध्यक्ष राजेश कुमार गुरुङले जनाउनु भयो ।