
दीननाथ बराल,
पोखरा २२, वैशाख,
कास्की जिल्ला तेस्रो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि गत बर्षको विजेता अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालाको भलिवल टे«निङ सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँ पालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
अन्नपूर्णले २५–१५, २५–१६ र २५–१९ को सोझो सेटमा माछापुच्छ«े माथि जित हासिल गरी उपाधि सहित १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै उपविजेता माछापुच्छ्रेले नगद रु ६० हजारका साथमा ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको हो । कास्की जिल्ला भलिबल संघले आयोजना गरेको उक्त प्रतियोगितामा पोखरा महानगर र रुपा गाउँ पालिकाले सान्त्वना स्वरुप नगद १०–१० हजार प्राप्त गरेको कास्की भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरुङले बताउनु भयो ।
प्रतियोगितामा अन्नपूर्णका मिलन विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गर्नु भयो । त्यसै गरी उत्कृष्ट सेटरमा बल बहादुर गुरुङ, पोखरा महानगरका विजय परियार उत्कृष्ट सर्भर, माछापुच्छ्रेका मनोज खड्का उत्कृष्ट स्पाइकर, अन्नपूर्णका आकाश धमाल उत्कृष्ट ब्लकर, निरोज धमाल उत्कृष्ट डिफेन्डर, सुनिल धमाल उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद २ हजार पाँच सयका साथमा प्रमाणपत्र प्राप्त गर्नू भएको हो ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णु बहादुर केसी र माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मिन बहादुर गुरुङ, संघका अध्यक्ष गुरुङ सहितका अतिथीले नगद, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।