द्वितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो

-


     पोखरा क्लिक     
     वैशाख २२ गते २०८१ मा प्रकाशित


डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ ।
पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।

कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए । उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे ।

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले द्वितीय युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे । कृतिको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए ।

कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।
कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले स्रष्टा सुवेदीको व्यक्तित्व र कृतित्वका विविध आयामबारे प्रकाश पारेका थिए । यसैगरी, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख डा. यमनाथ तिमिसिना, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, नेपाली लेखक संघ कास्कीका अध्यक्ष रिता अधिकारी,
साहित्यकार असफल गौतमलगायतले कृति र स्रष्टा बारेका धारणा राखेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले स्रष्टा शर्मालाई अनेसासको पिन, परिचयपत्र र सम्मानपत्रसहित साहित्य यात्राको निरन्तरताको कामना गरेका थिए ।