
दीननाथ बराल,
पोखरा २०, वैशाख,
खेलकुदको शहर पोखरामा पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भोलि (शुक्रबार) देखि उक्त प्रतियोगिता नेपालमै पहिलो पटक हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो ।

प्रतियोगितामा १२ जिल्लाका करिब २ सय जना कर्मचारी, जनप्रतिनिधि सहित खेलाडीहरुको सहभागिता हुने भएको संघका सचिव फडिन्द्र तिमिल्सिनाले बताउनु भयो । जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने भएको हो । निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी) सहभागि हुने भएको संघले जनाएको छ । पुरुष खुल्ला डबल तर्फको प्रतिष्प्रर्धाको विजेता जोडीले प्रथम पुरस्कार स्वरुप ५० हजार उपविजेता हुनेले ३० हजार र तेस्रो हुनेले भने २० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।
त्यसै गरी जनप्रतिनिधिहरु बिच हुने खुल्ला पुरुष डवल तर्फको प्रतियोगितामा बिजेताको जोडिले प्रथम, दोश्रो र तेश्रो क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार रहेको सचिव फडिन्द्र प्रसाद तिमिल्सिनाले बताउनु भयो । ४५ वर्ष माथि उमेर समुहको भेट्रान्स खुला पुरुष डबल तर्फ विजेताको जोडीले ४० हजार, उपविजेताले २५ र तेश्रो हुनेले २४ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । ५० वर्ष माथि उमेर समुहको भेट्रान्स खुला पुरुष डबल तर्फ विजेताको जोडीले ४० हजार, उपविजेताले २५ र तेश्रो हुनेले २४ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । नेपाल शीर्ष २० तथा बिना विभागीय खुला पुरुष डबल तर्फ विजेता हुने टोलीले ५० हजार दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको हो ।
त्यसै गरी प्रतियोगितामा जुनियर खेलाडीहरुको प्रोत्साहनको लागि १५ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१५) महिला खुला एकल तर्फको प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने भएको हो । आधारभूतस्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्धि गराउने उद्देश्य साथ उक्त प्रतियोगिता गर्न लागिएको उपाध्यक्ष बिशाल खड्काले बताउनु भयो । प्रतियोगिताले कर्मचारी तथा जनप्रतिनिधि तहमा पनि खेलको सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय कास्की संरक्षक रहेको छ ।