दीननाथ बराल,
पोखरा १९, वैशाख,
पहिलो पटक खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिता पोखरामै हुने भएको छ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा यही वैशाख २१ र २२ गते पोखरामा सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
जुनियर देखि भेट्रान्स सम्मका ६ वटा विधामा हुने प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र खुल्ला पुरुष तर्फको प्रतियोगिता हुने भएको संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताउनु भयो । निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी) सहभागि हुने पुरुष खुल्ला डबल तर्फको प्रतिष्प्रर्धाको विजेता जोडीले प्रथम पुरस्कार स्वरुप ५० हजार उपविजेता हुनेले ३० हजार र तेस्रो हुनेले भने २० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।
त्यसै गरी जनप्रतिनिधिहरु बिच हुने खुल्ला पुरुष डवल तर्फको प्रतियोगितामा बिजेताको जोडिले प्रथम, दोश्रो र तेश्रो क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार रहेको सचिव फडिन्द्र प्रसाद तिमिल्सिनाले बताउनु भयो । ४५ वर्ष माथि उमेर समुहको भेट्रान्स खुला पुरुष डबल तर्फ विजेताको जोडीले ४० हजार, उपविजेताले २५ र तेश्रो हुनेले २४ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । ५० वर्ष माथि उमेर समुहको भेट्रान्स खुला पुरुष डबल तर्फ विजेताको जोडीले ४० हजार, उपविजेताले २५ र तेश्रो हुनेले २४ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । नेपाल शीर्ष २० तथा बिना विभागीय खुला पुरुष डबल तर्फ विजेता हुने टोलीले ५० हजार दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको हो ।
त्यसै गरी प्रतियोगितामा जुनियर खेलाडीहरुको प्रोत्साहनको लागि १५ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१५) महिला खुला एकल तर्फको प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने भएको संघले पोखराक्लिकलाई जनाएको हो ।
आधारभूतस्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्धि गराउने उद्देश्य साथ उक्त प्रतियोगिता गर्न लागिएको उपाध्यक्ष बिशाल खड्काले बताउनु भयो । प्रतियोगिताले कर्मचारी तथा जनप्रतिनिधि तहमा पनि खेलको सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय कास्की संरक्षक रहेको छ । गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद पन्चराम गुरुङले पोखरालाई खेलकुदको शहरको रुपमा स्थापित गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनु भयो ।