दीननाथ बराल,
पोखरा १९, वैशाख,
आज (बुधबार) देखि पोखरा रंगशालामा बलराम केसी स्मृति जिल्ला लिगकम नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार भएको खेलमा ड्यामसाइड क्लव, गत बर्षको विजेता हेमजा यूनाइटेड र सहारा क्लवले जित हासिल गरेका छन्।
बुधबारकोे पहिलो खेलमा ड्यामसाईडले भदौरे क्लव माथि ४–० को गोल अन्तरले पराजित गर्यो ।
ड्यामसाइडको जितमा विवेक गुरुङले १, मिलन कुमालले २ र मिलन गिरीले एक गोलको योगदान दिदा भदौंरेले गोल गर्न सकेन । त्यसैगरी उदघाटन खेलमा गत बर्षको विजेता हेमजा युनाईटेडले फुलबारी क्लब माथि २–१ को गोल अन्तरले पराजित गर्यो । हेमजाको जितमा सगुन शर्माले दुई गोल गर्दा फुलबारीका निकोलस गुरुङले एक गोल गरे ।
तेश्रो खेलमा सहारा क्लबले शितलज्योति क्लबलाई ३–१ गोलले पराजित गरेको एन्फा कास्कीका महासचिव बुद्धि बहादुर क्षत्री खत्रीले बताए । सहाराको जितमा भागवत चौधरी, विक्रम गौतम र मुकुन्द न्यूउरेले एक एक गोलको योगदान दिदा शितल ज्योतिका सविन बस्नेतले शान्त्वना गोल गरे । भोलि (विहिबार) विहानै देखि पहिलो चरणकै खेलहरु हुने भएको एन्फा कास्कीका अध्यक्ष उज्वल रञ्जितले बताए ।
प्रतियोगिताको उदघाटन बलराम केसी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाबहादुर कार्कीले गरेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने भएको छ भने उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने भएको छ । एन्फा कास्कीका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नरेन्द्रजंग गुरुङले प्रतियोगितामा २१ टिमको सहभागिता रहेको बताए ।