
दीननाथ बराल,
पोखरा १५, वैशाख,
हिजो आज पोखरा क्षेत्रको आकाशमा बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ हवाई उडान गर्न नसक्ने गरी उडान प्रभावित भएको छ । केही दिन देखि हवाई उडान प्रभावित हुदै आएको सन्दर्भमा शनिबार भने पोखरा क्षेत्रको हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ ।
शनिबार पोखरा काठमाण्डौं, भैरहवा पोखरा, भरतपुर पोखरा, पोखरा नेपालगन्जका सबै जसो उडानहरु रद्ध भएको एयरलायन्स कम्पनीहरुले जनाएका छन्। शनिबार मात्र बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलायन्स गरी करिब ३५ वटा हवाई उडानहरु प्रभावित भएको कम्पनीले दाबी गरेका छन् । पोखराबाट हुने हवाई उडान शनिबार पूर्ण रुपमा प्रभावित भएको बुद्ध एयर कम्पनी पोखरा कार्यालयका स्टेशन म्यानेजर गौतम बरालले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार शनिबार बुद्ध एयरका २१ वटा हवाई उडान रद्ध भएको छ भने शुक्रबार २० वटा उडान हुनुपर्नेमा २ वटा मात्र भएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३५ सय देखि ३८ सय मिटरको भिजिविलिटी आवश्यक पर्छ भने पोखराको भिजिविलिटी २ हजार मिटर भन्दा कम रहेको स्टेशन म्यानेजर गौतमले बताउनु भयो ।
विहिबार बेलुका २ वटा हवाई उडान काठमाण्डौंबाट पोखरा गरेको बुद्ध एयरले शुक्रबार बिहान काठमाण्डौं पोखरा २ उडान गरेको थियो । त्यसै गरी यति एयरलायन्सको पनि शुक्रबार र शनिबारको हवाई उडानमा प्रभाप परेको यति एयरलायन्सका राम लामिछानेले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुशान शुक्रबार १० वटा हवाई उडान मध्य एक मात्र भएको थियो भने शनिबार ११ वटा उडान रद्ध भएको छ । यति वेला पर्यटनको राम्रो सिजनको मौसम मानिन्छ । हाल पोखरा काठमाण्डौंको हवाई उडान गर्दा विदेशीको हकमा १ सय ५ अमेरिकी डलर नेपालीको हकमा भने ४ हजार ४ सय देखि अधिकत्तम ६ हजार ७ सय ८८ सम्म पर्ने गर्दछ ।
पोखरा र काठमाडौँ उपत्यकाको आकाशमा केही दिन देखि बाक्लो तुवाँलो लागि रहेको छ । धेरै ठाउँमा आगलागी हुनुले आकाशमा धुलोको कर्णहरु फैलिएको बताइन्छ । यसको लागि आकाशबाट पानी पर्नुपर्ने मौसमविदहरुले बताउदै आउनु भएको छ । चैत वैशाखमा विभिन्न खेत वारीमा तथा पाखामा आगो बढेलो लगाउने गर्दा सावधानि अपनाउन नसक्दा वन जंगलमा समेत ठुलो क्षती हुने गरेको छ ।