दीननाथ बराल,
पोखरा १४, वैशाख,
फोटो पत्रकार सहित बङ्गलादेशको नारायणगंज क्लबका पदाधिकारीलाई पोखरामा स्वागत गरिएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः०० बजे पछि हुने मैत्रिपूर्ण फुटवल खेल्न आएको टोलीलाई आज(शुक्रबार) बेलुका पोखरामा स्वागत गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्याँमकृष्ण थापा, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले बंगलादेशको टोलीलाई नेपाली ढाका टोपीको साथमा खादा समेत लगाउदै स्वागत गर्नु भएको थियो । हुसेन कावासरको नेतृत्वमा बंगलादेशबाट नेपाल आएको फोटो पत्रकार सहितको टोलीले शनिबार बिहान ७ः३० बजे पोखरा रंगशालामा नेपाल फोटो पत्रकार संघ कास्कीसंग मैत्रिपूर्ण फुटवल खेल्ने भएको संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।
शुक्रबारको स्वागत कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा प्रकृति, संस्कृति र सहासिक खेलकुदको केन्द्र नै रहेको दाबी गर्नु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणासंगै यस्ता कार्यक्रम हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने उहाँले दाबी गर्नु भयो ।
फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको बंगलादेशबाट सहभागि मोहमद हुसेनले बताउनु भयो । यसैबिच, विहिबार काठमाण्डौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई ५–३ गोलले पराजित गरेको थियो । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा उक्त मैत्रिपूर्ण फुटवल खेल भएको हो ।