नयाँबजारको महायज्ञमा कथावाचन आजसम्म

-


     पोखरा क्लिक     
     वैशाख ९ गते २०८१ मा प्रकाशित


पोखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा आज(आइतबार) सम्म कथावाचन हुनेछ । कथा सुन्न भक्तजनको भीड बढेको छ । महायज्ञको छैटौंं दिन शनिबार सार्वजनिक बिदा भएकोले भक्तजनको उपस्थिति बाक्लो थियो ।

हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गर्न पहिलो पल्ट यहाँ उपस्थिति छन् । उनको मुखारबिन्दबाट कथा सुन्न विशेषगरी युवासहित ज्येष्ठ नागरिकको आकर्षण छ । नयाँ वर्षको पहिलो दिनदेखि सुरु भएको महायज्ञमा ३ गतेदेखि सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान वैशाख ९ आइतबारसम्म चल्नेछ ।

१० गते समापनसहित पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण हुने महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए ।

लोकको कल्याणका लागि आयोजित महायज्ञमा दिउँसो १ देखि साढे ४ बजेसम्म नियमितरुपमा श्रीमद्भागवत् कथा प्रवचन भइरहेको हो । महायज्ञमा करिब १२ सय जना कर्ता छन् । महायज्ञ मूल आयोजक समितिका अनुसार यो महायज्ञमा अर्थ संकलनको उद्देश्य छैन ।

महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रमले प्रदर्शनी केन्द्र महायज्ञमय बनेको छ ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञका सल्लाहकार एवं विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले बताए ।

पितृमुक्ति वा सद्गतिको कामना लिएर घरघरमा सप्ताह लगाउने हाम्रो मौलिक परम्परा रहेकोमा कुनै कारण घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना हुने व्यवस्था मिलाइएको छ ।