पोखराका ५० वटा छाडाचौपाय गौशालामा व्यब्स्थापन गरियो, छाडाचौपाय छाड्ने उपर कार्वाही हुने

-


     पोखरा क्लिक     
     वैशाख ७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ७, वैशाख,

पोखरा महानगर क्षेत्रका ५० वटा छाडा पशुचौपायहरु गौशालामा व्यबस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोक देखि पोखरा क्षेत्रका सडकमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा व्यबस्थापन गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो ।

महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीहरुलाई महानगरिय प्रहरीको सहयोगमा गौशाला लगिएको उहाँले जनाउनु भयो ।

पोखरा महानगरपालिकाको सहयोगमा गोकुल धाममा पोखराको नगर क्षेत्रमा रहेका छाडा पशु चौपायहरुलाई व्यवस्थापन गर्ने गरिएको छ । पोखरामा जथाभाबी रूपमा छोडिएका पशुचौपायका कारण सडक सुरक्षामा चुनौती थपिएको, नगरका डिभाइडर तथा पार्कहरूमा लगाइएका फुल तथा बिरुवाहरू खाइदिने, फुटपाथमा पैदलयात्रीहरुलाई आक्रमण गर्ने लगायत समस्याहरू देखिएपछि नगरप्रमुख धनराज आचार्यको निर्देशनमा विशेष अपरेसन नै चलाएर ती पशुहरूको सङ्कलन तथा व्यवस्थापन गरिएको महानगरिय प्रहरी बलका प्रमुख निरिक्षक पुरुषोत्तम थापाले बताउनुभयो ।

पशुपालन व्यवसाय गरिरहेका कतिपय नगरवासीहरूको असावधानीका कारण सिङ्गो महानगरपालिकाले समस्या झेल्नु परेको उहाँले गुनासो गर्नु भयो । आर्जन हुन्जेल खाने तर बुढो वा थाक्न थालेपछि सडकमा छोड्ने मानिसहरूको अमानवीय कार्यले सडक सुरक्षामा चुनौती थपिएको प्रहरी प्रमुख थापाले बताउनु भयो । अव सडकमा आउने पशुचौपायको धनीको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने महानगरले चेतावनी दिएको छ । छाडा पशुको धनी पत्ता लाग्ने बित्तिकै कारबाही गर्ने र फेरी फेरी यस्तो अमानवीय कार्य नगर्ने स्थितिमा पु¥याउने मेयर आचार्यले जनाउनु भयो ।

सहरी सौन्दर्यीकरणको बाधकको रूपमा देखा परेको छाडापशुचौपायको समस्या समाधानका लागि महानगरपालिका निरन्तर लागिरहेको भए पनि पशुपालन कृषक वा व्यवसायीहरूको लापरबाहीका कारण आफूहरू पटक पटक आलोचित हुनु परेको मेयर आचार्यले बताउनु भयो । अटेर गर्ने र आफ्नो भकारोको पशु फुकाएर विभिन्न वाहानामा सडकमा छोड्नेहरू अव कारबाहीको दायरामा ल्याउने उहाँले दाबी गर्नु भयो ।

पूर्वीय सभ्यताले गाईलाई लक्ष्मीको रूपमा माता समान पूज्य मानेको उल्लेख गर्दै मेयर आचार्यले तर यहाँ त हदैसम्मको दुख भोगोस् भन्ने अभिप्रायले व्यस्त सडकको बिचमा छाडाचौपाय छोडिएकोमा चिन्क्ता व्यक्त गर्नु भयो ।

हाल गौशालामा ४ सय बढी चौपायहरुलाई व्यवस्थापन गरिएको छ । गौशाला सञ्चालनका लागि थुप्रै चुनौतीहरू भए पनि राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक भागवत भास्कर युवा पण्डित कमल नयन गौतमले यसको व्यवस्थापन गरिरहनु भएको छ । गौतम मै संरक्षकत्वमा गौशालामा आश्रित ४ सय पशुहरूले सन्तोषको जीवन जिइरहेका छन् । उनीहरूलाई दाना र पानीको व्यवस्था गौशालामा गरिएको छ ।