सहकारीको रकम हिना मिना गर्ने उपर राजनीतिक संरक्षण नगर्न सुझाव, शुभम सहकारीको पोखरा २२ को नियालेडाँडामा अन्तरकृया कार्यक्रम

-


     पोखरा क्लिक     
     वैशाख ५ गते २०८१ मा प्रकाशित


पोखरा ५, वैशाख,

सहकारीको रकम हिनामिना गर्ने उपर राजनीतिक संरक्षण नगर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनु भएको छ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको शुभम् बचत तथा ऋण सहकारी संस्थाले बुधबार पोखरा २२ स्थित कालाबाङ्ग नियालेडाँडामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्तहरुले आम जनताले भविश्यमा केही सहयोग पुग्ने उद्धेश्यले बचत गरेको रकम हिनामिना गर्ने उपर कुनै राजनीतिक संरक्षण नगरी कार्वाही नै गर्नुपर्नेमा जोड दिनु भएको हो ।

कास्की बचत संघका अध्यक्ष शेरबहादुर कार्कीले कास्कीमा केही सहकारीहरुमा समस्या भएकोले सहकारीका संचालकहरु फरार केही पक्राउ परेको अबस्थामा शुभमले सामुहिक वनभोज सहितको शुभकामना आदान प्रदान गर्नु निकै प्रशंसनिय कार्य भएको बताउनु भयो । कास्कीका राम्रा सहकारी मध्ये उत्कृष्ट १० भित्र पर्छ शुभम पर्ने दाबी गर्दै उहाँले हाल सहकारीले राखेको साख जोगाई राख्न आग्रह गर्नु भयो ।


छिमेकमा देखिएको समस्यालाई समेत मनन गरेर अघि बढ्नुपर्ने सुझाव दिदै अध्यक्ष कार्कीले छिमेकमा रहेको सहकारी बिग्रँदा त्यसको असर छिमेक मै पर्ने भएकाले संस्थाले आफू मात्र सुरक्षित छु भनेर नबसी आवश्यक रणनीति बनाएर अघि बढ्न आग्रह गर्नु भयो । जीबी राईको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष कार्कीले सहकारीमा बचत कर्ताको रकम हिनामिना गर्नेलाई राजनीतिक संरक्षण दिइएको आरोपव लगाउनु भयो ।


संघका अध्यक्ष कार्की सहित उपाध्यक्ष ईश्वर सुबेदी, कोषाध्यक्ष केशवशरण पौडेल, लेखा संयोजक केशवराज ढकाल, लोक दोहोरी कलाकार श्रीराम अधिकारी, चन्द्रावती कार्की तथा सहकारीका अध्यक्ष राजन पन्तले संयुत रूपमा भित्तेपात्रो विमोचन गर्नु भएको संस्थाका सचिव कृष्ण प्रसाद पोख्रेलले बताउनु भयो । संस्थाका अध्यक्ष राजन पन्तले सहकारीका सदस्यहरूको विश्वास र सिङ्गो संचालक समिति, शुभेच्छुक र कर्मचारीहरूको योगदानका कारण सहकारी हाल कुनै समस्यामा नरहेको ादबी गर्नु भयो । सहकारीका कोषाध्यक्ष होमराज भट्टराइले सहकारीहरूमा समस्या देखिन थालेपछि शुभमको कार्यालयमा अवस्था बुझ्न पुग्ने सेयर सदस्य संस्थाको वित्तीय अवस्था बुझेपछि खुसी भएर फर्कने गरेको अनुभव सुनाउनु भयो ।


कार्यक्रममा सांस्कृतिक संयोजक रहेका संस्थाका उपाध्यक्ष सूर्य प्रसाद पौडेलको साथमा लोकप्रिय कार्यक्रम इन्द्रेणीका सहसंयोजक लोक दोहोरी कलाकार श्रीराम अधिकारी, कलाकार चन्द्रावती कार्की लगायतले सेयर सदस्य तथा अतिथिहरूलाई मनोरञ्जन दिनु भएको थियो ।


संस्थाका शिक्षा समिति संयोजक सीता देवी बरालको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सचिव कृष्ण प्रसाद पोखरेलले गर्नु भएको थियो । कार्यक्रमको दोस्रो चरणमा व्यवस्थापक कमल कोइरालाले अन्तरक्रियाको साथमा सदस्यहरूमाझ संस्थाको हालसम्मको वित्तीय विवरण प्रस्तुत गर्नु भएको थियो ।