
दीननाथ बराल,
पोखरा २, वैशाख,
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमिक्त प्रमुख नविन पोखरेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) मोहन कुमार थापाले सरर साइकल चढ्नु भएको छ । आइतबार पोखरामा आयोजित इलेक्ट्रिक साइकल हस्तान्तरण कार्यक्रममा पोखरेल र थापाले साइकल चलाउदै सरर साइकलको छोटो यात्रा गर्नु भएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटक प्रहरीको लागि उपलब्ध गराएको दुई थान इलेक्ट्रिक साइकल आइबतार बोर्डको कार्यालय परिसरमै हस्तान्तरण गरिएको बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत कुन्दन मिश्रले पोखराक्लिकलाई बताउनु भयो । करिब एक लाख ३० हजार मुल्य पर्ने उक्त साइकल बोर्ड गण्डकीका निमिक्त प्रमुख पोखरेलले एसपी थापालाई हस्तान्तरण गर्नु भएको हो । एसपी थापाले उक्त साइकल पोखराका पर्यटक प्रहरी इन्चार्ज जगदिश रेग्मीलाई उक्त साइकलको चावी हस्तान्तरण गर्नु भएको थियो ।

पेट्रोल रहित सवारी साधनको रुपमा रहेको इलेक्ट्रिक साइकल जसको प्रति घण्टा ४५ किलोमिटरसम्म गुड्न सक्ने भएकोले आफुहरुले पोखरा क्षेत्रको पर्यटनको शान्ति सुरक्षा र अप्ठ्यारोमा परेका पर्यटकहरुको रहात तथा उद्धारको लागि पर्यंटक प्रहरीलाई उक्त साइकल हस्तान्तरण गरिएको निमिक्त प्रमुख पोखरेलले जनाउनु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणा भएसंगै पोखराको शान्ति सुरक्षाको बिषयमा आफुहरुलाई थप चुनौती थपिएकोले प्रहरीहरुलाई साधन श्रोतमा अझै कमी भएको एसपी थापाले बताउनु भयो ।
नेपाल प्रहरीले आफुसंग भएको सिमित श्रोत साधनले आम कास्कीका जनताको शान्ति सुरक्षा र पर्यटकहरुको लागि हरदम तयारी अबस्थामा रहेको उहाँले दाबी गर्नु भयो । वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख डिएसपी राजेन्द्र कुमार श्रेष्ठले पोखराको लेकसाइड क्षेत्रमा उक्त साइकल वातावरणमैत्रि सवारी साधनको रुपमा निकै उपयोग हुने विश्वाश व्यक्त गर्नु भयो ।