भागवतको तत्व ज्ञान दिलाउने उद्धेश्यले पोखरामा महायज्ञ सुरु

-


     पोखरा क्लिक     
     वैशाख २ गते २०८१ मा प्रकाशित


श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि सुरु भएको छ । ज्ञानमहायज्ञको उद्घाटन अगाडि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो ।

सो महायज्ञको उद्घाटन गर्नुहुदै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले गर्नुहुदै धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यस महायज्ञले टेवा पुर्याउने बताउनुभयो । उहाँले ज्ञानभुमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभुमि रहेको बताउनुहुदै लोककल्याण तथा विशुद्ध आध्यात्मिक साधानाको उद्देश्यमा केन्द्रित महायज्ञ रहेको उल्लेख गर्नुभयो ।

ज्ञानमहायज्ञका प्रमुख भागवत वाचक हरिहर सन्यास आश्रम, देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी ज्ञानान्द सरस्वतीजी महाराज, महेश सन्यास आश्रमका पीठाधिश श्री रमणान्द गिरी महाराज, श्री १००८ स्वामी केशवानन्द गिरीजी महाराज सहित ११ जना स्वामी लगायतको उपस्थित रहेको छ ।

ज्ञानमहायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेल, सह–अध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपाका नेता रविन्द्र मिश्र, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियत अधिकारी लगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुनको साथै विश्वमा शान्ति फैलने बिषयमा जोड दिनुभएको थियो । भागवतको तत्व ज्ञान दिलाउने उद्धेश्यले उक्त महायज्ञ सुरु गरिएको सहअध्यक्ष पराजुलीले बताउनु भयो । सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता बृद्धि गर्ने हिसाबले आयोजना गरिएको ज्ञानमहायज्ञ बैशाख १० गतेसम्म संचालन हुने छ ।
बैशाख ३ गतेदेखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुने र १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेक सहित प्रसाद वितरण गरी महायज्ञको समापन हुने आयोजकले जनाएको छ ।



This will close in 20 seconds