वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै रोजगारी र उद्यमशीलता विकासमा हाम्रो जोड छ प्रमुख आचार्य

-


     पोखरा क्लिक     
     चैत्र २९ गते २०८० मा प्रकाशित



पोखरा, २९ चैत्र,


वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पोखराले कोरियन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक विषय शिक्षक र महिला सामुदायिक स्वास्थ्य सेविकाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा इपिएस प्रक्रियाको बारेमा परिचयात्मक प्रस्तुति शाखाकी निर्देशक मैयाँ कँडेल, इसिएस लक्षित वैदेशिक रोजगार बोर्डको भूमिकामा विषयमा नेपालको तर्फबाट दक्षिण कोरियाका लागि पूर्व काउन्सिलर रमा भट्टराई र इपिएस कोरिया भाषा परीक्षा प्रणालीको प्रक्रिया र निष्पक्षता बारेमा शाखाका अधिकृत कमलराज श्रेष्ठले प्रस्तुति राख्नु भएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वैदेशिक रोजगारीमा जानुपुर्व आवश्यक सीप विकासको तालिम लिने प्रवृत्ति कम भएका कारण यसलाई थप सुरक्षित र विश्वासिलो बनाउन चुनौतीपूर्ण रहेको बताउनुभयो । स्वदेशमै उद्यम गर्ने प्रचलनको विकास नहुनु र अदक्ष रूपमा विदेश पलायन हुँदा नेपाली कामदारहरूले थुप्रै समस्याहरूको सामना गर्नु परेको उहाँले बताउनुभयो ।

“पोखरा महानगरपालिकाले प्रथमतः युवाहरूलाई वैदेशिक रोजगारी भन्दा पनि स्वदेश मै स्वउद्यममा लाग्न प्रोत्साहन गरिरहेको छ, हामीले महानगर क्षेत्रमा युवा उद्यमशीलताको विकास गर्न स्टार्ट अप लगायतका अनुदान तथा साझेदारी कार्यक्रमहरू समेत सञ्चालन गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, यति गर्दा पनि युवाहरूको विदेश पलायनलाई भने रोक्न सकिएको छैन ।” अहिले विदेश जाने कुरा एउटा संस्कार जस्तो बनेको भन्दै उहाँले गहिरो चिन्ता समेत व्यक्त गर्नुभयो ।

इपिएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूको अवस्था मध्यपूर्वका देशहरूमा जानेहरूको तुलनामा सन्तोषजनक रहेको भए पनि वैदेशिक रोजगारीका समस्याहरू भने विद्यमान रहेको उहाँले बताउनुभयो । विदेशमा दुखले आर्जन गरेको कमाइको कतिपय अवस्थामा दुरुपयोग हुने गरेको, पारिवारिक विचलन र विखण्डनहरू हुने गरेको, श्रमिकहरूले भनेको जस्तो काम नपाएको, सोचे अनुसारको कमाई नहुँदा मानसिक विचलन आउने गरेको, अकल्पनीय दुर्घट्नाहरुमा परि ज्यान गुमाउने लगायतका समस्याहरू अहिले भोग्न परिरहेको उहाँले औँल्याउनुभयो । वैदेशिक रोजगारी भन्दा स्वदेश मै उद्यमशील बन्ने÷बनाउने वातावरणको सृजना गर्न सके मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

शाखाले दोस्रो दिन इपिएस मार्फत कोरियामा रहेका श्रमिकहरूको परिवार जनसँग समन्वय तथा छलफल गरेको छ । श्रमिकहरूलाई परिवारको तर्फबाट दिइनु पर्ने आड भरोसा र माया ममताका बारेमा छलफल केन्द्रित गरिएको महानगरपालिकाका रोजगार संयोजक विष्णु दाहालले बताउनुभयो । कतिपय अवस्थामा विदेशमा रहेका श्रमिकहरूलाई परिवारको तर्फबाट पनि कमाउनै पर्ने दबाब सृजना गरी तनावमा धकेल्ने गरिएको गुनासोका बिच यस प्रकारको कार्यक्रम गरिएको शाखाले जनाएको छ ।



This will close in 20 seconds