गण्डकी प्रदेशमा चैत २७ गतेभित्र सरकार गठन गर्न आह्वान

-


     पोखरा क्लिक     
     चैत्र २१ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २१, चैत,

गण्डकी प्रदेशमा यही चैत २७ गतेसम्म नयाँ सरकार गठनको लागि आव्हान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान राजीनामा दिएपछि गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले एक साताको समय सिमा दिदै सरकार गठनको लागि आव्हान गर्नु भएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत २७ गते दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालद्धारा जारी गरिएको प्रेस विज्ञेप्तिमा जनाइएको छ ।

अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यही प्रदेश मन्त्रि परिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको उहाँले जनाउनु भयो । मुख्यमन्त्री पाण्डेले बुधबार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख समक्ष लिखित राजिनामा दिनु भएको थियो । गत फागुन २३ गते माओबादी केन्द्रले समर्थन फिर्ता लिएसंगै प्रदेश सरकार अल्पमतमा परेकोले भोलि( (चैत २२ गते) भित्र विश्वासको मत लिनु पर्ने भएकोले विश्वासको मत पाउने आधार नभए पछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिनु भएको हो ।

सदनमा निर्णायक शक्तिको रुपमा रहेको राप्रपाले कागेंसलार्ई समर्थन नगर्दासम्म कागेंस नेतृत्व सरकारले विश्वासको मत पाउने आधार नभएकोले राजीनामा दिनु भएको हो । अघिल्लो बैशाख १४ गते माओबादी समेतको समर्थनमा पाण्डे नेतृत्वको सरकार बनेको भएपनि गत फागुन २३ गते माओबादीले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।

राप्रपाका सांसद तथा पूर्व मन्त्री पञ्चराम गुरुङले अहिलेको अबस्थामा आफुहरु आन्दोलनमा रहेकोले प्रदेश सरकार गठन प्रकृयामा तटष्त नै बताउनु भयो । प्रदेशमा ११ जिल्लाका कागेंसका बाट २७, एमालेका २२, माओबादीको सभामुख सहित ८ , राप्रपाको २ र स्वतन्त्रबाट एक जना सांसद सदनमा रहेका छन् । बहुमतको सरकार गठनमा ३१ मत आवश्यक पर्छ ।