दीननाथ बराल,
गण्डकी प्रदेश सरकारले नवलपुर र तनहुँको शुक्ला गण्डकीमा प्रादेशीक क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको चैत्र ९ गते बसेको मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले नवलपुर र तनहुँको शुक्ला गण्डकीमा गरी दुई ठाउँमा प्रादेशीक क्रिकेट रंगशाला निर्माण गर्ने निर्णय गरेको हो ।
प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदद्वारा गठित अध्ययन टोलीले प्रदेशका विभिन्न जिल्लाको भ्रमण र स्थलगत अवलोकन गरी उक्त जग्गाको खोजी गरी परिषदलाई सिफारिस गरेसंगै परिषदले प्रदेश सरकारलाई उक्त प्रस्ताव पेश गरेको थियो । चितवनको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान र त्यसको बैकल्पिक अन्तराष्ट्रिय क्रिकेट मैदान नवलपुर नवलपुरको नवदुर्गामा निर्माण भएको खण्डमा अन्तराष्ट्रिय स्तरका ठुला प्रतियोगिता प्रदेशमा गर्न सकिने भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । त्यसै गरी पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदान देखि तनहुँको शुक्ला गण्डकी क्षेत्रमा ४० किलोमिटर भन्दा कम दुरीमा भएकोले उक्त स्थानमा निर्माण हुने क्रिकेट मैदानले ठुलो महत्व राख्ने उहाँले बताउनु भयो । सन २०२७ मा नेपालमा हुने क्रिकेटको वल्र्ड क्वालिफाइन राउड खेलको लागि लक्षित गरी संघिय र प्रदेश सरकारको साझेदारीमा उक्त क्रिकेट मैदान निर्माण गर्ने तर्फ आफुहरु अब केन्द्रित हुने सदस्य सचिव शर्माले जनाउनु भयो ।
सरकारले दिएको जिम्मा पुरा गर्न टोलीले कुनै पनि वाधा अवरोध नभएको जग्गाको खोजी गरिरहेको सदस्य गौतमले बताउनु भयो । निर्माणका लागि जग्गा खोजीको पहिलो चरण पार भएको बताउँदै उहाँले सबै हिसावले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको दाबी गर्नु भयो । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा रहेको प्रदेश खेलकुद परिषद गण्डकीले अन्ततः जग्गा प्राप्त गर्ने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिए संगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो ।
वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले उक्त जग्गा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि उपयूक्त रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो–“कुनै न कुनै रुपले हामीले यो जग्गालाई संरक्षण गर्नुपर्छ भन्नेमा थियौं तर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको बारेमा हामीले त्यती सोचेका पनि थिएनौं, प्रदेश खेलकुद परिषदले नयाँ योजना ल्याएको छ, हामी त्यसको स्वागत गर्छौं, प्रदेश सरकारले यहाँ रंगशाला निर्माणको योजना अघि सार्छ भने हामी त्यसका लागि तयार छौं ।” करिव ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि नवढे संगै प्रदेश सरकार विगत तीन वर्ष देखि नयाँ जग्गाको खोजीमा रहेको थियो । प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर समेत तयार गरिसकेको थियो ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा २९ पटनेरीको जग्गा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उपयूक्त रहेको बताउनु भयो । आफुले स्थलगतरुपमा अवलोकन गरेको जनाउदै उहाँले वडा कार्यालय र स्थानियहरु समेत सकरात्मक र उत्सुक भएको जनाउनु भयो । उत्तरतर्फ ३६० डिग्रीमा हिमाल देख्न सकिने बताउदै अध्यक्ष सिग्देलले पोखराको लेकसाइड र वेगनासबाट समेत नजिक छ । पोखरा रंगशालाको क्रिकेट मैदानबाट जम्मा १२–१३ किमिको दुरीमा छ । पोखरालाई क्रिकेटको हव बनाउन उक्त क्रिकेट मैदानले सहयोग पुग्ने अध्यक्ष सिग्देलले जनाउनु भयो ।