फेवा नव बर्ष महोत्सवको तयारी अन्तिम चरणमा, भारतीय पर्यटक पोखरामा उत्साहजनक

-


     पोखरा क्लिक     
     चैत्र १९ गते २०८० मा प्रकाशित


दीननाथ बराल

नेपाली नयाँ बर्षको अवसरमा पोखरामा हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ मा ३ लाख दर्शक सहित पर्यटक भित्राउने लक्ष्य राखिएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा पोखरामा यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म ड्यामसाईड देखि लेकसाइडमा आयोजना हुने उक्त महोत्सवमा ३ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा चैत र वैशाख महिना भरी २० प्रतिशत सम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनु भयो । यही खुसीमा नयाँ बर्षमा पर्यटकलाई होटलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पार्नु भयो ।

संघले विगत दुई दशक अघिदेखी नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी संघले अगाडी बढाएको हो । कोभिड १९ पश्चात् पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य महोत्सवले लिएको छ । महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो ।

पोखराका होटलको हाल ६० प्रतिशत अकुपेन्सि रहेको संयोजक सुवेदीले बताउनु भयो । पोखरामा हाल भारतीय पर्यटक उत्साहजनक सहभागी भएको उहाँले जनाउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले पोखरामा हाल भारतीय र चाईनीज पर्यटकको सङ्ख्यामा गत बर्ष भन्दा बढी भित्रिएको दाबी गर्नु भयो । आर्थिक गतिविधिको लागि पनि बोर्डले संघसंग सहकार्य गर्ने उहाँले बताउनु भयो ।

पत्रकार भेटघाट कार्यक्रम बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनायण श्रेष्ठले पोखरामा हिजोआज भारतबाट करिव १५० वटा सवारी साधनमा पर्यटक भित्रिएको दाबी गर्दै महोत्सवमा दोब्बरको सङ्ख्यामा बृदि हुने विश्वास व्यक्त गर्नु भयो । संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले महोत्सव अविधमा ३ लाख दर्शक सहित पर्यटक भित्र्याउने दाबी गर्नु भयो । पूर्व अध्यक्ष विकल तुलाचनले कोभिडले २ बर्ष स्थगित भएको महोत्सव यसबर्ष भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको बताउनु भयो । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबर्द्धन रहेको संघले पोखराक्लिकलाई जनाएको छ ।