‘अनलाईन एब्युज’विरुद्ध अभियानको घोषणा

-


     पोखरा क्लिक     
     चैत्र १७ गते २०८० मा प्रकाशित



राष्ट्रिय खेलकुद संघहरुको सहकार्यमा ‘अनलाईन एब्युज’बिरुद्धको राष्ट्रब्यापी अभियानको घोषणा गरिएको छ । ई स्पोर्ट्स संघ, नेपाल (ईशान) र नेपाल अटोमोबाईल्स एसोसियसन (नासा नेपाल)ले संयुक्त रुपमा मिलेर शनिबार यस अभियानको घोषणा गरेका हुन् ।

ई स्पोर्ट्स संघ नेपालको आयोजनामा शनिबार काठमाडौंमा दर्जन बढी खेल संघका पदाधिकारी बीच विश्वब्यापी रुपमा सुरुवात भएको अनलाईन एब्युजको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विश्वब्यापी रुपमा खेलकुदमा हुने अनलाईन एब्युज, यसले पारेको प्रभाव र यसबाट बच्न सकिने उपायका विषयमा छलफल गरिएको हो । कार्यक्रममा अनलाईन एब्युजबाट खेल र खेलाडीलाई सुरक्षित राख्ने उपायका विषयमा ईशान र नासा नेपालले प्रस्तुती राखेका थिए ।

कार्यक्रममा सहभागी खेल संघका पदाधिकारीले पछिल्लो समय खेलकुद र खेलाडीमा अनलाईनबाट हुने दुव्र्यवहार बढ्दो क्रममा रहेको भन्दै एब्युजविरुद्धको अभियानमा आफ्नो संघको एक्यबद्धता हुने जनाएका थिए । कार्यक्रममा इशान र नासा नेपाल सहित नेपाल हक्की संघ, नेपाल आर्चरी संघ, नेपाल कराँते महासंघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल साईक्लिङ संघ, एडभेन्चर रनिङ फेडेरेसन, नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ, स्कुल स्पोर्टस्स फेडेरेसन, नेपाल आईटीएफ तेक्वान्दो संघ लगायतले एक्यबद्धता जनाएका थिए ।


खेल क्षेत्रमा हुने अनलाईन दुव्र्यवहारविरुद्ध विश्वब्यापी रुपमा फेडेरेसन अफ ईन्टरनेश्नल अटोमोबाईल्स (एफआईए) र इन्टरनेश्नल ई स्पोर्ट््स फेडेरेसनले मिलेर अभियानको सुरुवात गरेका छन् । नेपालमा समेत एफआईएको नेपाल च्याप्टर नासा नेपालसँग मिलेर ई स्पोर्ट्स संघ नेपालले अभियानको सुरुवात गरेको हो ।

एफआईएका वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराईले नेपालका खेल संघहरुले विश्वब्यापी एजेण्डाको नेतृत्व गर्नुपर्ने धारणा राखे । उनले खेलकुदका संघहरुले एजेण्डा केन्द्रित कार्यक्रमलाई नेपालमा अघि बढाउनुपर्ने बताएका थिए ।
ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमलाले अनलाईन दुव्र्यवहारविरुद्धको अभियानमा आफ्नो संघले कार्य प्रारम्भ गरेको बताए । उनले अनलाईनबाट हुने दुव्र्यवहारलाई कम गर्न सम्पुर्ण खेल संघको एक्यबद्धता र सामुहिक पहलकदमी आवश्यक रहेको बताएका थिए ।