प्रदेश प्रमुख भट्टद्वारा महेन्द्र र चमेरे गुफा अवलोकन

-


     पोखरा क्लिक     
     चैत्र १७ गते २०८० मा प्रकाशित



गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखराको प्रमूख पर्यटकीय स्थल महेन्द्र गुफा र चमेरे गुफाको अवलोकन गर्नुभएको छ।

करिब ३ दशक पछि प्रसिद्ध महेन्द्र र चमेरे गुफाको अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गर्दै , गुफा क्षेत्रको विकासले फड्को मारेको वताउनु भयो। प्राकृतिक गुफालाई यसको पहिचान नमेटिने गरि संरक्षण गरिनुपर्नेमा जोड दिदै, प्रमुख भट्टले निर्माणाधीन संरचनाले थप आकर्षण दिने विश्वास ब्यक्त गर्नुभयो।

स्थानीय विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा संचालित दुवै गुफाको विषयमा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य एवम् महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरूदत्त भट्टराईले गुफा विकासको योजना र आगामी कार्यक्रमका विषयमा जानकारी गराउनुभयो। भट्टराईले गुरू योजना अनुसारका बाँकी कामका लागी आवस्यक सहयोगका लागि प्रदेश प्रमुख भट्टको ध्यानाकर्षण समेत गराउनुभयो। त्यस अवसरमा प्रमुख भट्टले पोखरा पर्यटकीय राजधानी भइसकेको अवस्थामा पर्यटकीय स्थलहरूको थप विकासका लागि तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

यस अघि प्रदेश प्रमुख भट्टलाई संयोजक भट्टराई, समितिका सदस्य सचिव शिशिर पौडेल, विकास समितिका सदस्य सुशील बस्नेत, युवा नेता अर्जुन अधिकारीले स्वागत गर्नुभएको थियो। गण्डकी प्रदेश सरकारको सहयोगमा महेन्द्र गुफा सौन्दर्यकरण परियोजना मार्फत निर्माणाधीन काम अन्तिम चरणमा पुगेको बताईएको छ।