घान्द्रुक महोत्सवको तयारी तिव्र, महोत्सवमा क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     चैत्र १५ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १५, चैत,

कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

“सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती रहने भएको महोत्सवका प्रचार संयोजक अमृत गुरुङ (लामा) ले बताउनु भयो । महोत्सवको अवसरमा आयोजना हुने खुल्ला क्लव स्तरिय पुरुष भलिवल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेतालाई ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यसै गरी महोत्सवमा बास्केटवल प्रतियोगिताका बिजेतालाई १ लाख उपविजेतालाई ६० हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा करिब १४ टिमको सहभागिता हुने आफुहरुलदे अपेक्षा गरेको सुनिल गुरुङले बताउनु भयो ।

त्यस्तै महोत्सवको अवसरमा घोडचढी प्रतियोगिता, छेलो प्रतियोगिता, महिला तर्फको भलिवल, चक्रीय दौड लगायतका खेल गतिविधि हुने भएको छ । महिला तर्फको भलिवलमा प्रथम पुरस्कार ३० हजार, दोश्रो २० हजार ट्रफि मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । राष्ट्रिय खेल खेलेको बढीमा २ जना खेलाडी एक टिममा सहभागिता गराउन पाइने भएको समितिले जनाएको छ । घोडचढीको बिजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ रूपैया प्रदान गरिने भएको छ ।

उक्त महोत्सवले घान्द्रुक क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुगेको समितिका अध्यक्ष बिक्रम गुरुङले बताउनु भयो । नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा हुने उक्त कार्यक्रमले गाँउ पर्यटनको समेत प्रचार प्रसार हुने उहाँले दाबी गर्नु भयो । घान्द्रकमा ७३ वटा होटल र १९ वटा होमस्टे रहेको समितिका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी किसन गुरुङले पोखराक्लिकलाई जनाउनु भयो ।

उक्त महोत्सव सम्पन्न गर्न १७ लाख खर्च हुने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा होटल आवासमा ३० प्रतिशत छुट हुने भएको छ । महोत्सवमा सहभागि हुने खेलाडीहरुलाई भने बिषेश छुटमा खानाको समेत व्यबस्था मिलाइएको छ । सादा खाना प्रति छाक २ सय चिकेन खानाको २ सय ५० रुपैया लिने भएको समितिले जनाएको छ ।

ढुङगेनी गाँउ घान्द्रुक पनि विश्वकै दोश्रो छोटो दुरी गन्तव्यमा पर्न सफल हुनुले आफुहरुको गाँउको विश्व सामु प्रचार प्रसार भएको स्थानियहरुले बताउनु भएको छ । महोत्सवमा स्थानिय रुपमा उत्पादन भएका खाद्य बस्तु सहितका सामाग्रिहरु प्रर्दशनीमा राखिने भएको छ ।