पोखरा देखि बागलुङसम्म इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सुरु

-


     पोखरा क्लिक     
     चैत्र १३ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पर्यटनको राजधानि पोखरामा इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले पोखरा देखि बागलुङसम्मका लागि हाल उक्त सेवा सुरु गरेको समितिका अध्यक्ष उमेश केसीले पोखराक्लिकलाई बताउनु भयो ।

समितिले हाल परिक्षण गर्न पनि दुई वटा साइक्रो बसबाट सुरु गरेको हो । एउटा पोखराबाट छुट्छ भने अर्को बागलुङबाट बिहान एकै समयमा ६ः०० बजे बस छुट्ने भएको अध्यक्ष केसीले बताउनु भयो । उहाँले भन्नुभयो,“पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसैले गर्दा पर्यावरण मैत्रि त्योसँगै पेट्रोल र डिजेलमा खर्च हुने पैसा समेत बचत हुने जसले देशको अर्थनत्त्रलाई समेत सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।”

अध्यक्ष केसीले विद्युतिय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने दाबी गर्दै हाल अन्य सवारी साधन भन्दा केही शुल्क बढी भए पनि हाललाई बागलुङदेखि पोखरासम्मको लागि ४५० रुपैयाँ भाडा दर निर्धारण गरिएको उल्लेख गर्नू भयो । न्यूनतम एक घण्टा देखि डेढ घण्टा चार्ज गरे पछि २ सय ४० किलोमिटर माइक्रो बस गुड्ने उहाँले जनाउनु भयो । पोखरा बागलुङको अन्य बसको भाडा शुल्क ३ सय २० रहेकोमा जिपमा भने ५ सय २० रहेको छ ।

अधिकांश सवारी साधन छुदने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा यात्रुले सास्ती भोग्नु परेको बताउँदै उहाँले अब त्यसको अन्त्य गर्ने दाबी गर्नु भयो । एक करोड १० लाख रुपैयाँ लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको बताउदै अध्यक्ष केसीले एउटा गाडीको मुल्य ५५ लाख रुपैयाँ परेको जनाउनु भयो ।

उपल्लाचौरमा रहेको बागलुङ बागलुङ बसपार्कदेखि ट्राफिक चोक हुँदै बिहान ६ बजे, ८०ः३० बजे, ११०ः३०, ४ बजे छुट्ने छ भने पोखरादेखि पनि बागलुङको लागि सोही समयमा छुट्ने भएको छ । बागलुङमा एउटा चाजीङ स्टेशन छ भने पोखरामा २ ठाँउमा पर्यटन बस पार्क र मालेपाटनको शसस्त्र प्रहरी वलको कालिका फ्युल स्टेशनमा रहेको छ । प्रा.लि.मा हाल करिब साना तथा ठुला गरी प्रायः देशै भरी संचालन हुने गरी ३ सय सवारी साधनहरु रहेको अध्यक्ष केसीले जनाउनु भयो ।

यसैबिच, केही दिन अघि बागलुङ नगरपालिका मेयर वसन्त कुमार श्रेष्ठले उक्त बस सेवाको उद्घाटन गर्दै समयानुकुल इलेक्ट्रिक बस सेवालाई अब प्रथामिकता दिनुपर्नेमा जोड दिनु भयो ।