घान्द्रुक महोत्सवमा भलिवल, बास्केटवल, घोडचढी प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     चैत्र १३ गते २०८० मा प्रकाशित



दीननाथ बराल,

कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा एक लाख पुरस्कार राषि भएको क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा उक्त प्रतियोगिता हुने भएको समितिले जनाएको छ ।

“सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती रहने भएको महोत्सवका प्रचार संयोजक अमृत गुरुङ(लामा) ले बताउनु भयो ।

महोत्सवको अवसरमा आयोजना हुने खुल्ला क्लव स्तरिय पुरुष भलिवल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेतालाई ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यसै गरी महोत्सवमा बास्केटवल प्रतियोगिताका बिजेतालाई १ लाख उपविजेतालाई ५० हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा करिब १४ टिमको सहभागिता हुने आफुहरुलदे अपेक्षा गरेको सुनिल गुरुङले बताउनु भयो ।

त्यस्तै महोत्सवको अवसरमा घोडचढी प्रतियोगिता, छेलो प्रतियोगिता, महिला तर्फको भलिवल, सडक दौड लगायतका खेल गतिविधि हुने भएको छ । महिला तर्फको भलिवलमा प्रथम पुरस्कार ३० हजार, दोश्रो २० हजार ट्रफि मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । राष्ट्रिय खेल खेलेको बढीमा २ जना खेलाडी एक टिममा सहभागिता गराउन पाइने भएको समितिले जनाएको छ ।

उक्त महोत्सवले घान्द्रुक क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुगेको समितिका पूर्व अध्यक्ष एवं होटल व्यवसायी किसम गुरुङले बताउनु भयो । नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा हुने उक्त कार्यक्रमले गाँउ पर्यटनको समेत प्रचार प्रसार हुने उहाँले दाबी गर्नु भयो । समितिका अध्यक्ष बिक्रम गुरुङको नेतृत्वमा विभिन्न उपसमितिहरु ग्ठन भएको छ ।