प्रथम ड्रागन बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोट्र्स नेपाललाई

-


     पोखरा क्लिक     
     चैत्र १२ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०८० को उपाधि वाटर स्पोट्र्स नेपालले जितेको छ । पोखराको बेगनास तालमा सोमबार सम्पन्न भएको खेलमा वाटर स्पोट्र्स नेपालले अन्य १३ टिमलाई पछि पार्दै उपाधि सहित नगद ३ लाख हात पार्न सफल भयो ।

प्रतियोगितामा २ सय मिटर तर्फको ड्रागन वोट रेसमा नारा पोखराको समुहले उपाधि जित्यो । नारा पोखराले निर्धारित दुरी १ मिनेट ४३ः४८० सेकेण्डमा पार गर्नु भएको थियो । दोश्रो भएको वाटर स्पोट्र्स नेपालले भने १ मिनेट ४४ः८१० सेकेण्डमा उक्त दुरी पार गर्नु भएको हो । तेश्रो भएको हर्पन फेवा मत्स्य सहकारी(जलारी समुह) ले तेश्रो स्थान हासिल गर्यो । उहाँहरुले उक्त दुरी १ मिनेट ५१ः५९० सेकेण्डमा पार गर्नु भएको हो । प्रतियोगितामा खास्टे निउरीनी शान्त्वना हुन सफल भयो । पहिला तर्फको ५ सय मिटरमा बेगनासताल डुंगा व्यवसाय समिति(महिला समुह) प्रथम, बेगनास मत्स्य व्यवसाय समिति(महिला समुह) दोश्रो र जलारी दिदी बहिनी समुह तेश्रो हुनु भयो । विजेताले निर्धारित दुरी दुई राउण्डमा ५ मिनेट ७ः३१० सेकेण्डमा, दोश्रोले ५ मिनेट ८ः६०० सेकेण्डमा र तेश्रोले भने ५ मिनेट २७ः६५० सेकेण्डमा पार गर्नु भएको थियो ।

५ सय मिटरको दुरी दुई चरणमा वाटर स्पोट्र्स नेपालको समुहले ३ मिनेट ५७ मिनेट १९० मिलिसेकेण्डमा पार गरी प्रथम हुन सफल भएको हो । त्यसै गरी नारा पोखराको समुहले ३ मिनेट ५७ः५९० सेकेण्डमा उक्त दुरी पार गर्दै दोश्रो हुँदा ४ मिनेट ६ः८५० सेकेण्डमा उक्त दुरी पार गरी नेपाली सेनाको टिम तेश्रो हुन सफल भएको छ । घरेलु टिम बेगनास डुंगा व्यवसायी समितिको टिम भने शान्त्वना भएको छ ।

त्यसै गरी प्रतियोगितामा २ सय मिटर डुंगा दौड महिला तर्फ बेगनासताल मत्स्य व्यवसाय समिति प्रथम भएको छ । उक्त दुरी २ चरणमा २ मिनेट १७ः३४ सेकेण्डमा पार गरी मत्स्य व्यवसाय समिति प्रथम भएको हो । प्रतियोगितामा बेगनास ताल डुंगा व्यवसायी समिति दोश्रो र जलारी दिदी बहिनी समुह तेश्रो हुनु भयो । दोश्रोले निर्धारित दुरी २ मिनेट १७ः५९ सेकेण्डमा र तेश्रोले भने २ मिनेट १९ः१५ सेकेण्डमा पार गरेका हुन्। विजयी खेलाडीहरुलाई नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्य, चाइनिज दुतावासका डिपुटि चिफ अफ मिसन वाङसिङ, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नविन पोखरेल, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराम तिम्सिना, पर्यटन विकास समिति पोखरा महानगरपालिकाका उपाध्यक्ष रविन्द्रराज पौडेल, कार्यक्रम संयोजक एवं होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार पुरस्कार प्राप्त गर्नु भयो । दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिएको छ । महिला तर्फ भने विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजार पुरस्कार प्राप्त गरे ।

बेगनास तालको पिप्ले टुडादेखि मन्दरे पार्क सम्मको क्षेत्रमा प्रतियोगिता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालय पोखरा र पोखरा महानगरपालिकाको आयोजना, ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त सह—आयोजनमा उक्त प्रतियोगिता भएको हो । लेखनाथ उद्योग बाणिज्य संघ र राष्ट्रिय खेलकुद परिषद उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरि ड्रागन बोट रेस प्रतियोगिता भएको ड्रागन बोट एसोसिएसन गण्डकीका अध्यक्ष दिपक सुवेदीले पोखराक्लिकलाई बताउनु भयो ।

गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय स्तरको ड्रागन वोट रेस भएको थियो । फागु पूर्णिमाको अवसर पारेर बेगनास तालमा हुने उक्त प्रतियोगिताले पोखराको खेल पर्यंटन प्रबद्र्धन गर्न टेवा पुग्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशीक कार्यालयका प्रमुख नवीन पोखरेलले बताउनु भयो । पोखराको लेकसाइड देखि प्रतियोगिता स्थल बेगनाताल क्षेत्रसम्म आइतबार र सोमबार निःशुल्क २ वटा बसको समेत व्यबस्था गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशीक कार्यालयका कार्यक्रम अधिकृत कुन्दन मिश्रले बताउनु भयो ।