स्व.त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण

-


     पोखरा क्लिक     
     चैत्र ४ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गरेको छ । गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिएको हो ।

मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिएको महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताउनु भयो । पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार आज उहाँको परिवारलाई अपर्ण गर्नु भएको हो ।

यसैबिच, प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०७९ पत्रकार दीपेन्द्र श्रेष्ठलाई अर्पण गरिएको महासंघ कास्की सचिव माधव बरालले बताउनु भयो । प्रतिभा छनौट समितिका संयोजक कुशुमकेशव पराजुलीले २०५४ साल देखि पुरस्कार वितरण हुँदै आएको उल्लेख गर्दै उक्त पुरस्कारको राषि नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको जनाउनु भयो ।

महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले उक्त सम्मान कोष विसं २०५२ सालमा स्थापना भएको जानकारी दिदै गण्डकी प्रदेशको आमसंचार बिधेयक पास भईसकेको र अब छिट्टै कार्वान्वयनमा लैजानुपर्ने बताउनुभयो। दिवङ्गत प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँका परिवारजनले पुरस्कारको अक्षयकोष स्थापना गरेको हुन् । विसं २०७९ को उक्त सम्मान पाउनुहुने श्रेष्ठ नेपाल पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष एवं एभरेष्ट एमएएमका कार्यकारी निर्देशक हुनुहुन्छ । विसं २०८० को सम्मान प्राप्त गर्नुहुने दिवङ्गत पौडेल महासङ्घको गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ । महासङ्घका केन्द्रीयसमेत रहनुभएका पौडेलको गत वर्ष विमान दुर्घटनामा परि निधन भएको थियो ।