चर्चीत गायिका चौहानले अन्ततः आत्मआलोचना सहित माफ माग्नु भयो…

-


     पोखरा क्लिक     
     फागुन २७ गते २०८० मा प्रकाशित


हिजोआज अधिकांश मानिसको मनस्थिती नै नकरात्मकले भरिएकोे जस्तो लाग्छ । हाम्रो समाजमा हेर्यो भने हरेक कुरा तथा बिषयहरुलाई सकरात्मक भन्दा बढी नकरात्मक ढंगले हेर्ने त्यसलाई आलोचना गरी हाल्ने बानी बस्न थालेको छ ।
पछिल्लो क्रममा यसको सिकार हुनु भयो नेपालकै युवा चर्चीत गायिका एलिना चौहान । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको भन्दै साउण्ड सिस्टम व्यवसायीको आपत्ति जनाउदै खेद व्यक्त गरेका थिए ।

यसै सन्दर्भमा गायिका चौहान र साउण्ड सिस्टम व्यवसायीले प्रकाशन गरेको प्रेस विज्ञेप्ति जस्ताको तस्तै तल प्रस्तुतः गरिएको छ ।

गायिका चौहानले आफ्नो फेसवुक स्टाटसमा यसरी माफि माग्नु भयो ।

जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।
तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।
साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो÷ भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु।
यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।
सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।
गायिका
एलिना चौहान।

     साउण्ड सिस्टम व्यवसायीको प्रेस विज्ञेप्ति 

गायिका एलिना चौहानको अमर्यादित व्यवहारप्रति साउण्ड सिस्टम व्यवसायीको आपत्ति
बिगत लामो समयदेखि राज्यको सम्पूर्ण नीति नियमभित्र रहेर आफनै देशमा लगानी गरी साउण्ड सिस्टमको व्यवसाय सञ्चालन गरिरहेका हामी व्यवसायीहरू र त्यसमा आवद्ध साउण्ड इन्जिनियर, टेक्निसियनमाथि यही फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको हुँदा खेद व्यक्त गर्दछौँ ।
साउण्ड सिस्टम कम्पनी र कलाकारहरूबिच आपसी परिपूरक सम्बन्ध हुन्छ, हामी स्पिकर र एमप्लिफायरलाई पूजा गर्छौ, यसैको माध्यमबाट कलाकारको कर्णप्रिय आवाज दर्शक÷स्रोता कानसम्म पुग्छ । हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरू निन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ । चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकी छन् । जुन कार्यक्रममा गए पनि उनले ‘साउण्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ । आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ ।
अनुशासन र आचार संहिता सबैका लागि हो । कलाकार राष्ट्रका पुँजी र परिवर्तनका लागि चेतनाको चिराग हुन् भन्ने सत्यलाई आत्मसात गर्छौ । यद्यपि कलाकारले पनि आफ्नो इज्जत, प्रतिष्ठा र गरिमालाई कायम राख्न टेक्निसियनसँग सद्भावपूर्ण व्यवहारको आवश्यकता अपरिहार्य छ । ‘नाँच्न नजान्ने अनि आँगन नै टेडो रहेछ’ भनेर खोट लगाउने सनातन संस्कारको धङधङ्गीबाट माथि उठ्नुपर्छ । आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउने जस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ ।
निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म तल उल्लेखित साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगमी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौँ । योे प्रकरणमा मुलुकभरिका साउण्ड कम्पनीहरूलाई ऐक्यवद्धता जनाउन अपिल गर्दै सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीज्यूहरूलाई समाचार सम्प्रेषणका लागि हार्दिक अनुरोध गर्दछौँ ।
आपत्ति जनाउने संस्थाहरू ः सञ्चालक हस्ताक्षर
१. जि. के. साउण्ड सिस्टम ः गमबहादुर क्षेत्री ……………….
२. एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स ः शेरबहादुर गुरुङ ………………..
३. साउण्ड गार्डेन ः प्रकाश श्रेष्ठ ………………..
४. मञ्जित साउण्ड सिस्टम ः मञ्जित जैसवाल …………………
५. जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस ः विनित जोजिजू …………………
६. एविज साउण्ड सिस्टम ः एविज गुरुङ …………………

मिति ः २०८० फाल्गुण २६ गते शनिबार