दीननाथ बराल,
पर्यटकीय नगरी पोखरामा आगामी डेढ बर्षमा निर्माण हुने गरी पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा उक्त भवनको आइतबार एक समारोहका बिच शिलान्यास गरिएको हो ।
पोखराका मेयर धनराज आचार्यले उक्त भवनको शिलान्यास गर्दै सो भवन पोखराको पहिचान गराउने दाबी गर्नु भयो । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा पोखरा भवन निर्माण हुने भएको उहाँको भनाई छ । उक्त भवनमा पुस्तकालय सहित पर्यटन सूचना केन्द्र, घण्टा घर, आर्ट ग्यालरी निर्माण हुने भएको मेयर आचार्यले जनाउनु भयो । पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने बताउदै मेयर आचार्यले भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने उल्लेख गर्नु भयो ।
२०८२ को घटस्थापनाका दिन उद्घाटनको मिति समेत घोषणा गर्दै मेयर आचार्यले तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माणमा उक्त भवन बनाउन निर्माण कम्पानीलाई आग्रह गर्नु भयो । ५ करोड १ लाख ४६ हजार ५ सय ५१ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको भुइतला (अन्डर ग्राउन्ड) पार्किङ समेत हुने भएको छ । १ हजार २ सय ६९ दशमलव ८९ वर्ग मिटरको फ्लोर एरिया हुने भवन सुविधा सम्पन्न हुने पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्याँमकृष्ण थापाले बताउनु भयो ।
कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अन्डर ग्राउन्ड पार्किङ, भुईँतलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभाहल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने भएको हो । पोखराको महेन्द्रपुलमा जिर्ण अबस्थामा रहेको पुस्तकालय रहेको भवन भत्कायर महानगरले हाल अन्तराष्ट्रिय झण्डा पार्क बनाएको छ । पोखरा महेन्द्रपुलमै जिर्ण अबस्थामा रहेको पोखरा आर्ट ग्यालरीमा हाल सार्वजनिक सौचालय निर्माण भएको छ । उक्त कार्यक्रममा पोखरा महानगरका प्रवक्ता मोतीराम तिमिल्सिना, पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी लगायतले वोल्नु भएको पोखराक्लिकलाई महानगरले जनाएको छ । कार्यक्रममा चर्चीत काटुनिष्ट दुर्गा बराल वात्सायनको समेत उपस्थिती रहेको थियो ।