दीननाथ बराल,
पोखरा २२ मा रहेकोे बिशाल महादेवको मुर्ति परिसरमा बर्षकै सबै भन्दा धेरै दर्शनार्थीको आज भिडभाड भएको छ । आज महाशिवरात्री पर्वको अवसरमा विहान देखि दर्शनार्थी र पर्यटकहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास संस्थाका अध्यक्ष एवं उद्योगपती चन्द्रकान्त बरालले पोखराक्लिकलाई बताउनु भयो ।

उहाँका अनुसार आज महाशिवरात्री पर्वको अवसरमा १५ हजार भन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर(महादेव) को दर्शन गर्न तथा दुध चढाउन आउनु भएको छ भने हजारौंको संङख्यामा पर्यटक आउनु भएको छ । दर्शनार्थीहरुले उक्त बिशाल महादेवको मुर्ति परिसरमा पुगेर पूजा आजा सहित एक सय ८ शिवलिङमा दुध समेत चढाउनु भएको हो ।

बिहानैदेखि अत्याधिक भिड भएकोले सो क्षेत्रमा ट्राफिक व्यबस्थापन देखि दर्शनार्थीहरुलाई व्यबस्थापन गर्न समेत हम्मेहम्मे भएको थियो । यर्सैबिच पोखराका विभिन्न शिवालय मन्दिरहरुमा आज धुमधामका साथ पूजा आज भएको छ । गुप्तेश्वर गुफा, सृजनाचोकमा रहेको पशुपतिनाथ मन्दिर, केदारेश्वर महादेवमणि लगायतका शिव मन्दिरहरुमा शिवका भक्तहरुको भिड लागेको हो ।

शुक्रबार साँझ विभिन्न चौतारी देखि शिव मन्दिर भएका स्थलमा शिव धोनी लगाउदै उखु खाने उखु पट्काइएको छ । वर पिपल काटछाट समेत यसै समयमा गर्ने गरिन्छ ।










