पत्रकार कृष्ण थापालाई मातृशोक

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८० मा प्रकाशित


पत्रकार एवं सामाजिक व्यक्तित्व कृष्ण थापालाई मातृशोक परेको छ । उनकी ममतामयी माता कृष्णकुमारी थापा (स्यानी) को ७९ वर्षको उमेरमा बुधबार राति आफ्नै निवास सिमलचौरमा निधन भएको हो ।

उनी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् । केही समयअघि काठमाडौं समेत उपचारार्थ लगिएको थियो ।

महिला संघमा सक्रिय उनको नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुसँग राम्रो चिनाजानी थियो । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत नेताहरु ‘भाउजू’ उपनामले सम्बोधन गर्थे । पोखरा आउँदा उनीकहाँ खाना खान्थे । सबैलाई सहयोग गर्न रुचाउने कृष्णकुमारी धार्मिक व्यक्तित्व थिइन् ।

उनको बिहीबार सेती नदी तुल्सीघाटमा अन्त्येष्टि भयो । शवमा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, कांग्रेस महासमिति सदस्य वीरेन्द्रनारायण विजुक्छे, जयनारायण श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । क्षत्री समाज नेपालका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले पनि समाजको झण्डा ओढाएर चिरशान्तिको कामना गरे ।

रामेछापमा जन्मिएकी कृष्णकुमारीको १३ वर्षकै उमेरमा सराङकोटका लीलबहादुर थापासँग २०१५ सालमा विहे भएको थियो । थापा दम्पतीबाट २ छोरा र १ छोरी जन्मिएकामा ७ वर्षकै उमेरमा छोरीको निधन भएको थियो । छोराहरुमा सन्तोष थापा र कृष्ण थापा छन् । कृष्ण कान्छा हुन् । पति स्वर्गेवास भइसकेका छन् । कृष्णकुमारीका २ छोराबुहारी, २ नाति र ३ नातिनी छन् ।

कृष्ण थापा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् । उनी विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै सक्रिय छन् । पोखराको रेडियो सराङकोटका कार्यकारी निर्देशक उनी सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् । उनी क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख सहित विभिन्न संघसंस्थामा आबद्ध छन् ।