महिलाका हक अधिकार सुनिश्चितताका लागि महिला सशक्तिकरण अपरिहार्य भएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्की र युएसआईडि जल जंगल परियोजनाद्धारा संयुक्तरुपमा आयोजित अन्तरकृया कार्यक्रममा बक्ताहरुले महिला सशक्तिकरणको खाँचो औल्याएका हुन ।
“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” नाराका साथ आयोजित कार्यक्रममा महिला सम्वन्धि संवैधानिक अधिकार अक्षरस कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार हुनु पर्नेमा सहभागिको जोड थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य अञ्जला चौधरीले दोश्रो प्रदेश पञ्चबर्षीय योजनामा महिला हक अधिकारको सुनिश्चििततालाई प्राथमिकतामा राख्ने तयारी भई रहेको जानकारी दिनुभयो ।
प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाकामा छलफल कार्यक्रमबाट प्राप्त सुझावका आधारमा महिला सशक्तिकरणमा जोड् दिइने बताउँदै उहाँले प्राप्त अधिकारको उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम हुनका लागि उद्यमी बन्नुपर्नेमा जोड दिंदै त्यसका लागि महासंघकातर्पmबाट आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले पछिल्लो समय प्रत्येक क्षेत्रमा महिला सहभागितामा क्रमिकरुपमा वृद्धि हुँदै गएको बताउनुभयो । प्रदेश वन निर्देशनालयका उपसचिव करुणा कार्कीले महिलाले अवसर पाएमा जस्तो सुकै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै आर्थिक, सामाजिक र सांस्कृतिक कारणले महिलालाई अघि बढ्न अहिले पनि चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा जल जंगल परियोजना सिनियर जेसी अधिकृत सुनिल चौधरी र किरण न्यौपानेले परियोजनाको लक्ष्य, नेपालमा महिलाको अवस्था, जलवायु परिवर्तन न्यूनिकरण सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका सचिव पार्वती सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा महासंघ केन्द्रीय सदस्य हरि बास्तोला र गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासंघ अध्यक्ष विश्वनाथ लामिछाने, महानगर महासंघ सचिव सिता सापकोटा लगायतले महिला दिवसको महत्व र महासघले खेल्दै आएको भूमिका माथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वन समुह, महिलासंघ सम्वन्धित विभिन्न संघसंस्था, कर्मचारी, वन विज्ञान अध्ययनरत विद्यार्थी सहित ५० जनाको सहभागिता रहेको थियो ।