धादिङ गजुरीको गलौदीमा बस दुर्घटना हुँदा ६ को मृत्यु

-


     पोखरा क्लिक     
     फागुन २३ गते २०८० मा प्रकाशित



धादिङ गजुरीको गलौदीमा आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लुम्बिनीबाट काठमाडौं जादैं गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी जवान जनप्रकाश सिंहले पोखराक्लिकलाई बताउनु भयो ।

आज बिहान करिब ४ः३ बजेको समयमा लु २ ख २१२१ नम्बरको बस बिहान सडकबाट करिब ९० मिटर तल त्रिशूलीमा खसेको उहाँले जनाउनु भयो । उक्त बसमा करिब ५१ जना सवार भएको प्रारम्भिक अध्ययनबाट खुलेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । मृत्यु हुनेहरुको हालसम्म पहिचान खुल्न नसकेको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोली समेत परिचालित हुनु भएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।