केन्द्रमा नयाँ गठबन्धन भएसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर पर्यो, प्रदेशका दुई मन्त्री बर्खास्त

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८० मा प्रकाशित


दीननाथ बराल

केन्द्रमा नयाँ गठबन्धन भएसंगै गण्डकी प्रदेश सरकारमा पनि त्यसको असर परेको छ । नेपाली कागेंस नेतृत्वमा रहेको प्रदेश सरकारमा रहेका माओबादी केन्द्रका दुई जना मन्त्रीलाई सरकारले बर्खास्त गरेको हो ।

प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रबाट मन्त्री हुनु भएको भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिंखडालाई बर्खास्त गर्नु भएको हो । दुई मन्त्रीलाई बर्खास्त गरेसंगै उहाँले उक्त मन्त्रालयको कार्यभार हाल आफुले नै सम्हाल्ने गरी आफ्नो माताहातमा राख्नु भएको हो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रि परिषद्को गठन गरी कार्यविभाजन गरेको मंगलबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मुख्यमन्त्री÷मन्त्री सुरेन्द्रराज पाण्डेले सम्हाल्नु भएको छ । अन्य मन्त्रीहरुमा कागेंसकै भएकोले पहिलाकै मन्त्रीहरु रहनु भएको छ । प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा महेन्द्रध्वज जी.सी., आर्थिक मामिला मन्त्रीमा जितप्रकाश आले मगर र उद्योग, पर्यटन, वन र वातावरण मन्त्रीमा दिपेन्द्रबहादुर थापा रहनु भएको छ ।

गण्डकी प्रदेशमा ११ जिल्लाका ६० जना सांसदहरु मध्य एमालेका २२, कागेंसका २७, माओबादी केन्द्रका सभामुख सहित ८, राप्रपाका २ र एक जना समाजबादीका सांसदहरु रहनु भएको छ । बहुमतको सरकार बनाउन कम्तिमा ३१ सांसद आवश्यक हुन्छ ।

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरु हटाएर सोमबार नै तीन जना मन्त्री नियुक्त गर्नु भएको हो ।