अमेरिकाको ह्युस्टन सहरमा नेपालको प्रतिनिधित्व गर्दै बरालले गर्नुभयो फोटो तथा भिडियो प्रर्दशन

-


     पोखरा क्लिक     
     फागुन २२ गते २०८० मा प्रकाशित


दीननाथ बराल

अमेरिकाको मिनेसोटा स्थित ह्युस्टन सहरमा हालै सम्पन्न भएको २२ औँ संस्करणको अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पोखराका फोटो पत्रकार तथा गिद्ध संरक्षण एवं लाटोकोसेरो संरक्षणका अभियान्ता कृष्णमणि बरालले फोटो तथा भिडियो प्रर्दशन गर्नु भएको छ । नेपालमा भइरहेको लाटोकोसेरो संरक्षणका प्रयास, लाटोकोसेरो संरक्षणकै लागि भएको संरक्षण उत्सव, नेपालका जैविक विविधता, उच्च हिमाल, पहाड, तराई सम्मको पाइने चराका प्रजाति, पर्यापर्यटनको आकर्षक गन्तव्य समेटेर तयार पारेको भिडियो प्रदर्शन गरिएको बरालले पोखराक्लिकलाई बताउनु भयो ।

भिडियो प्रदर्शनीको साथै नेपालमा लाटोकोसेरो चरा लगायत वन्यजन्तुको उद्धार पछि चरा वन्यजन्तुको उपचार गर्ने छुट्टै विशेषज्ञ पशुचिकित्सकको अभावमा सफल उपचार गरेर प्रकृतिमा फर्काउन हुँदै आएका चुनौती समेटिएका तीन प्रजातिका लाटोकोसेरोको फोटो कथा पनि प्रदर्शनी भएको हो ।

नर्वे, चेक रिपब्लिक, अमेरिका लगायत विभिन्न देशका चरा रिसचर, वैज्ञानिक, पत्रकार, युवा, विद्यार्थी देखि ८० वर्ष माथिका उमेर समुहका ज्येष्ठ नागरिकहरुको समेत उक्त कार्यक्रममा सहभागिता रहेको बरालले बताउनु भयो । लाटोकोसेरो आकृति भएका विभिन्न खानाका परिकार महोत्सवमा प्रर्दशनी गरिएको थियो ।

महोत्सवमा सहभागी हुन आएका स्थानीय, संरक्षणकर्मी नेपालमा हुँदै आएको लाटोकोसेरो संरक्षण उत्सवमा सहभागी हुन आउने बताउँदा आफुलाई निकू खुसी लागेको बरालले आफ्नो फेसवुक स्टाटसमा लेख्नु भएको छ । चराको फोटो खिच्दै विश्व भ्रमण गर्दै आएका फोटो ग्राफरले चराको तस्बिर खिच्न मात्रै पनि नेपाल आउने उहाँहरुले आफु समक्ष वाचा गरेको बरालले जनाउनु भयो । केही विदेशी पर्यंटकहरु भने पदयात्रा गर्न नेपाल आउने भएका छन्।

नेपालको जैविक विविधता, प्राकृतिक सुन्दरता र नेपालमा भएका संरक्षणका प्रयास भिडियो र तस्बिर मार्फत देखाएर अन्तर्राष्ट्रिय फोरममा ध्यान आकर्षण गर्न पाएकोमा बरालले सबै प्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

अमेरीकामा घाइते अवस्थामा भेटिएका उपचार पछि पनि प्रकृतिमा फर्कन नसक्ने अवस्थामा लाटोकोसेरोलाई सम्बन्धित सकारी निकायसँग अनुमति लिएर शैक्षिक प्रदर्शनीमा राख्न पाइने व्यवस्था रहेको बरालले जनाउनु भयो। महोत्सवमा विभिन्न प्रजातिका लाटोकोसेरोलाई महोत्सवमा प्रत्यक्ष देखाएर लाटोकोसेरोको महत्त्व र संरक्षणमा लाग्ने प्रेरित गरिएको थियो । यस्ता कार्यक्रमले गर्दा लाटोकोसेरोलाई नजिकबाट देख्न र चिन्न पाउने भएकोले संरक्षणमा लाग्न थप सचेत र सजग हुने बरालले विश्वास व्यक्त गर्नु भएको छ । महोत्सवमा उपचार पछि पनि प्रकृतिमा फर्कन नसकेका ग्रेट हर्न, स्नोइ लाटोकोसेरो लगायत ७ प्रजातिका लाटोकोसेरो देखाएर छुट्टै संरक्षण शिक्षा दिएको थियो । उक्त कार्यक्रम पश्चात नेपाल फर्किय पछि यस्तो अभियानमा आफ्नो निरन्तर प्रयास हुने बरालले बताउनु भएको छ ।