दीननाथ बराल,
पोखरामा सहकारीको रकम हिनामिना गरी ठगी आरोपमा पोखरा ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ३ जना पक्राउ पर्नु भएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य तथा ऋण संयोजक कृष्णमान श्रेष्ठ र सहकारीको जग्गा खरिद गरेका उदित संदिप पौडेललाई पक्राउ गरेको हो ।
गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन कास्की प्रहरीलाई बुझाएसंगै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा ७ दीन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । सहकारी ठगि मुद्धामा पक्राउ परेकाहरुको विस्तृत अध्ययन तथा अनुसन्धान हुदै गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनु भयो । उक्त सहकारीको करिब ७ करोड रुपैया रकम हिनामिना गरी ठगी गरेको आरोपमा कास्की प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उक्त सहकारी ठगि गर्ने केही व्यक्तिको खोजि कार्य भई रहेको समेत उहाँले जनाउनु भयो । सहकारीका सचिव गंगाधर सुवेदी भने दुई साता अघि देखि सम्पर्क विहिन भई फरार भएको बताइएको छ । उदित संदिप पौडेल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्ष हुनु हुन्छ । बर्दीयाका पौडेल सहित कैलालीकी रेजिना विष्टले सहकारीको जग्गा खरिद गर्नु भएको थियो ।
विन्दवासिनी सहकारीको रकम हिनामिना भएपछि छानबिनको माग गर्दै बचतकर्ताहरूले विगत दुई बर्ष अघि देखि सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिनु भएको थियो । सहकारी रजिष्ट्रारको कार्यालयले पटक पटक संचालक सहित रकम हिनामिना गर्नेहरुलाई वोलायर समस्या समाधान गर्न पहल गर्दा अन्तिम समयमा छलफलमै नआए पछि आफुहरुले उक्त सहकारीको रकम हिनामिना भएको प्रमाण सहित प्रहरी सामु प्रतिवेदन पेश गरेको गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्टार भेषराज रिजालले बताउनु भयो । आफुहरुको प्रतिवेदनमा विन्दवासिनी सहकारीको करिब ७ करोड रुपैयाँ हिनामिना भएको उल्लेख गरेको उहाँले जनाउनु भयो ।
अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । ५ करोड ५० लाखमा जग्गा खरिद गरी केही समयमा घाटा खायर ३ करोड ५९ लाखमा बिक्रि गरी उक्त रकम समेत हिनामिना गरेको भेटिएको रजिष्टाको कार्यालयले जनाएको छ । अध्यक्ष नकर्मी र सचिव गङ्गाधर सुवेदीले उदीप सन्दिप पौडेल र रेजिना विष्टलाई सहकारीको जग्गा बेच्नु भएको थियो ।