दीननाथ बराल
भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाको पर्यटन प्रबद्र्धनमा दुबै तर्फ सहकार्य हुने भएको छ । भरतपुर महानगरपालिका मेयर रेणु दाहाल र पोखराका पर्यटन व्यवसायीहरु बिचको हालै भएको भेटघाट कार्यक्रममा दुबै शहरको पर्यटन प्रर्बद्धन गर्न सहकार्य हुने बिषयमा छलफल भएको हो ।
मेयर दाहालले आफुहरुले हालै भरतपुर भ्रमण बर्ष घोषणा गरी अघि बढेकोले यस बर्ष सहयोग गर्न आग्रह गर्दै आउदो बर्षमा पोखराको पर्यटन प्रबद्र्धन गर्न सहयोग गर्ने बताउनु भयो । मेयर दाहालले भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई सफल पार्न पोखराका पर्यटन व्यावसायीसंग आग्रह गर्दै अर्को बर्ष पोखरालाई सहयोग गर्ने वचन दिनु भयो । उहाँले भन्नु भयो “तपाईहरुले जे अपेक्षा गर्नु भएको छ त्यो भरतपुर महानगरले पूरा गर्ने छ तर यस बर्ष हाम्रो लक्ष्य पुरा गर्ने अभियानमा तपाई पोखराका पर्यटन व्यवसायीहरुले पनि हामीलाई अहिलेको अबस्थामा सहयोग गर्नु पर्यो । ”
पोखरामा नेपाली नयाँ बर्षको अवसरमा हुने फेवा नयाँ बर्ष महोत्सवलाई सफल पार्न पनि आफुहरुको टिम पोखरामा आउने मेयर दाहालको भनाई थियो । होटल संघ पोखरा नेपालको आयोजनामा चैतको अन्तिम साता देखि पोखरामा फेवा नयाँ बर्ष महोत्सव हुने तयारी गरिएको छ । पोखराको पहिचान झल्कने गरी चरतपुरमा धेरै अघि देखि पोखरा बस पार्क रहेको उल्लेख गर्दै मेयर दाहालले भरतपुरको पहिचान झल्कने पोखरामा कुनै काम गर्न भरतपुर महानगरपालिका तयार रहेको जनाउनु भयो । पर्यटकीय महत्वका तीन सहर पोखरा, भरतपुर र लुम्बिनीलाई गोल्डन ट्रयांगलका रूपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो । एक ठाँउमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई अर्को ठाँउसम्म जाने र केही सहुलियतका प्याकेजका कार्यक्रम दिन सके यस क्षेत्रमा पर्यटक केन्द्रित गर्न सकिने मेयर दाहालको भनाई थियो ।
२०७४ सालमा निर्वाचित भए लगतै गण्डकी, बागमती र लुम्बिनी प्रदेशका यी तीन सहरलाई गोल्डन ट्र्यांगलरूपमा विकास गर्ने भनेर एक चरणका छलफल अघि बढेको स्मरण गर्दै मेयर दाहालले त्यसलाई सार्थक बनाउन जरुरी रहेको भनाई राख्नु भयो । सन् २०२४ भर भरतपुरमा २ लाख बाह्य पर्यटकसहित कुल ७ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मेयर दाहालले जनाउनु भयो ।
पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्राउन भरतपुर महानगरसंग र त्यहाँका पर्यटन व्यवसायीहरुसंग समेत सहकार्य गर्न आफुहरु तयार रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । नेपालको प्रमुख पर्यटकीय सहर पोखरालाई अब छिट्टै पर्यटकीय राजधानि घोषणाको तयारी भएको उहाँले दाबी गर्नु भयो ।
पोखरा मुग्लिङ सडक खण्ड स्तरोन्नतिपछि दुवै महानगर भरतपुर र पोखराको पर्यटन विकासमा सघाउ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो । श्रेष्ठ नेतृत्वमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा पर्यटन परिषद् महासचिव सञ्जयकान्त सिग्देल, पर्यटन व्यवसायी, पत्रकारको टिम सहभागि भएको थियो । घुमौं भरतपुर भन्ने नाराका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी लगायत शीर्षस्थ नेता एवं व्यक्तिहरुको उपस्थितिमा शुक्रबार निकै तामझामका साथ नारायणी किनारमा भरतपुर भ्रमण वर्षको भव्य उद्घाटन भएको थियो ।