पोखरामा तीन विधामा बास्केटबल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     फागुन २० गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरामा ३ विधामा बास्केटवल प्रतियोगिता हुने भएको छ । पोखरा ३ मा रहेको पुन एकता क्लबको आयोजनामा यही फागुन २२ देखि २६ गतेसम्म तीन विधामा बास्केटवल प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

बास्केटवल प्रतियोगिता अन्र्तगत पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने क्लबका अध्यक्ष सुदिप पुर्जाले बताउनु भयो । पुरुष तर्फ करिब ५, महिला तर्फ ७ र भेट्रान्स तर्फ भने ९ टिमको सहभागिता हुने अपेक्षा गरिएको उहाँले जनाउनु भयो । पुरुष बास्केटवल खेलमा राष्ट्रिय स्तरका २ जना खेलाडीहरु मात्र समावेस गर्न पाइने भएको छ । प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको खेल संयोजक निशाल थकालीले बताउनु भयो ।

पुरुष तर्फको प्रतियोगिताको विजेतालाई १ लाख र दोश्रो हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । यस विधामा दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ राखिएको छ । भेट्रान्सतर्फ प्रथम हुने टिमले ३५ हजार र दोश्रो हुनेले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गर्बुजाले बताउनु भयो । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले यस्ता खेलकुद गतिविधिले समाजमा खेलकुदको क्रेज बढ्ने दाबी गर्नु भयो । तीन विधामा हुने उक्त खेलले बास्केटवल खेलको विकास हुने कर्पाकेली समाजका अध्यक्ष रणसिंह गर्बुजाले जनाउनु भयो । क्लवले यस अघि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।