दीननाथ बराल
पोखरा १८, फागुन
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा मुग्लिङ सडक खण्डको स्तरउन्नतीको काम तिव्र गतिमा भई रहेको छ । केही समय अघि देखि दुई खण्डमा सडक स्तरोउन्नतीको काम सुरु भए पनि हाल निकै उत्साहजनक रुपमा काम अघि बढेको पोखराका पर्यटन व्यवसायीहरुले बताउनु भएको छ ।
शुक्रबार पोखराको पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदको समन्वयमा पत्रकार र पर्यटन व्यवसायीहरु बिच भएको सडक अध्ययन अवलोकनको क्रममा पर्यटन व्यवसायीले हाल सडक स्तरोउन्नतीको काम निकै उत्साह पूर्ण ढंगले काम अघि बढेको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । केही समय अघि परिषदको समन्वयमा पोखरा मुग्लिङ सडक खण्डको निमार्ण कार्य अवलाेकन गर्ने क्रममा निकै धिमे गतिमा सडक स्तराेउन्ननती भए पनि हाल केही ठाउँमा चार लेनको केही ठाँउमा दुई लेनको सहित पुल सहित सडक स्तरोउन्नतीको काम तिव्र गतिमा अघि बढेकोले यसलाई निरन्तरता दिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भयो ।
पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–आबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नतिको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो भने एसियाली विकास बैंक (एडीबी)को ऋणमा बन्न लागेको यो सडकको स्तरोन्नतिका लागि आयोजनाले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।
गत वर्ष मंसिर ३ मा सडक स्तरोन्नतिका लागि सडक विभागको एडीबी सडक निर्देशनालयले बोलपत्र आह्वान गरेको थियो । गत वर्ष कात्तिकमा एडीबीको यसका लागि २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो । सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार हुने भएको हो ।
सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने भएको छ ।
नेपालको पर्यटकीय गन्तव्य पोखरा देखि काठमाडौंसम्मको दुरी २ सय किलोमिटरको टाडा रहेको छ ।
मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी–जामुन्ने खण्डको स्तरोन्नतिको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ । गत डिसेम्बरमा चिनियाँ कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा मुग्लिन–पोखराको निमाण गर्ने जिम्मा सडकअन्तर्गतको पूर्व खण्ड आँबुखैरनी–जामुने सडक निर्माणको जिम्मा पाएको थियो ।
मुग्लिन देखि पोखराको दूरी करिव ९३ किमि रहेको छ भने आँबुखैरेनी–जामुने (४१.४५ किमि) पूर्वी खण्ड र जामुने–पोखरा (४५ किमि) रहेको छ । जामुने–पोखरा खण्ड विस्तारका लागि अनहुइ काइयुआनले निमार्णको जिम्मा पाएको हो ।
घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ ७–७ मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर चौडा हुन्छ ।