६० बर्ष उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा हुने

-


     पोखरा क्लिक     
     फागुन ९ गते २०८० मा प्रकाशित


दीननाथ बराल,
पोखरा ९, फागुन,


पोखरामा यही फागुनको १२ गते अर्थात शनिबार प्रथम ६० बर्ष उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा हुने यस प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताउनु भयो । प्रतियोगिताको विजेता जोडीले ३० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उपविजेताको जोडीले २० हजार र तेश्रो हुने दुई जोडीको टिमलाई समान १०÷१० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको प्रतियोगिताका संयोजक श्याँमकृष्ण श्रेष्ठले बताउनु भयो ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, खेलकुद नै जीवन हो, खेल खेली स्वस्थ रहौं” भन्ने नाराका साथ व्याडमिन्टन खेलको प्रबद्र्धन गर्न आफुहरु एक जुट भएको क्लवका सल्लाहकार माधव पहारीले बताउनु भयो । पोखरा खेलकुदको राजधानी शहरको रुपमा विकसित हुँदै गदाँ थप आकर्षणको लागि र खेल विकासको लागि ६०’ बुढा तन्नेरी ब्याडमिन्टन क्लबले राष्ट्रिय रुपमा ६०’ को मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गर्न लागेको सो प्रतियोगिताले पोखरा शहरमा थप इतिहास रच्ने भएको अध्यक्ष घलेले दाबी गर्नु भयो ।

यस खेलको माध्यमबाट एक आपसमा भाइचाराको वृद्धि भई मित्रभाव सद्भाव बढाउने क्लवले विश्वास लिएको छ । क्लबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलिसक्नु भएका खेलाडीहरु पनि सदस्य भएकोले व्याडमिन्टन खेलको विकासमा आफुहरु कटिवद्ध भएको सचिव दुर्गा बहादुर गुरुङले बताउनु भयो । बुढा तन्नेरी क्लबमा आजीवन २३ र साधारण ७ जना गरी ३० जना सदस्य रहनु भएको उहाँले जनाउनु भयो । जिल्ला बाहिरका खेलाडीहरुलाई एक दिनको आवासिय सुविधा हुने भएको छ । पोखरा अल्पाइन एण्ड स्प्रीङ होटल प्रतियोगितामा होटल पाट्नरको रुपमा रहेको सदस्य चन्द्रकाजी गुरुङले बताउनु भयो टिम दर्ता शुल्क भने ३ हजार रहेको छ क्लवले जनाएको छ ।



This will close in 20 seconds