पोखरा ५, फागुन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गराउन दबाब दिने उद्देश्यले आइतवार पोखरामा सार्वजनिक सभा आयोजना हुने भएको छ । उक्त सभाको आयोजना राष्ट्रिय नागरिक अभियान कास्की र स्वतन्त्र पत्रकार संघ कास्कीले गरेका हुन् ।
अभियानका संयोजक विनय यादवले पोखरावासीको ठूलो लगानी, सिङ्गो पोखराको गौरवको योजना निर्माण भएर सञ्चालनमा आइसक्दा पनि अन्तर्राष्ट्रिय उडानका लागि राज्य निदाएकाले ब्यूझाउन सभा आयोजना गरिएको बताए ।
सभाको मुख्य उद्देश्यारे प्रकाश पार्दै उनले थपे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर, वी।आर।आइ। ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भ्रष्टाचार छ भने छानविन गर यो बाहेक कार्यक्रमको अर्को उद्देश्य छैन ।’
सभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अग्रज पत्रकार युगनाथ शर्मा पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र पर्यटनविज्ञ वासुदेव त्रिपाठी वक्ताका रूपमा रहेको स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष असफल गौतमले जानकारी दिए । सभापछि वक्ताबाट आएका धारणा र समग्र पोखराबासीबाट संकलन गरिएका सुझावलाई सरोकारवाला निकायलाई बुझाइने आयोजक संस्थाले बताएको छ । सभामा पोखराका सबै क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको र उनीहरूबाट सुझाव मात्र संकलन गरिने अभियानका सदस्य सुनिल धामी बताउँछन् ।
सभामा उपस्थित हुन नसक्नेलाई लक्षित गरेर सभालाई एभिन्यूज टेलिभिजन, रेडियो सफलता, एभरेष्ट एफ।एम। र नेपाल आज युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारणसहित सञ्चालन गरिने स्वतन्त्र पत्रकार संघका सहसचिव डि।आर। काफ्ले बताउँछन् ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन खोज मिडिया, ब्राइटर मिडिया, क्लिक पोखरा, नौलो खबर र आदर्श समाज राष्ट्रिय दैनिक पनि मिडिया पाट्नरका रूपमा रहेका सहयोग गरेका छन् । यस अघि अभियानले पोखराको सभागृहबाट पृथ्वीचोकसम्म दबाब ¥यालीसमेत आयोजना गरेको थियो ।