फुुटवल खेलको विकास गर्न पोखरामा फागुन १ देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     माघ २७ गते २०८० मा प्रकाशित



दीननाथ बराल,
पोखरा २७, माघ,

तल्लो स्तरबाटै फुुटवल खेलको विकास गर्ने उद्धेश्यले पोखरामा आउदो फागुन १ गते देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने भएको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा फागुन महिनाको १ देखि ६ गतेसम्म शसस्त्र प्रहरी गण(ड्यामसाइड) को खेल मैदानमा पोखरामा तेश्रो अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा हुने यस प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा बिद्यालयहरुको सहभागिता हुने भएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु भयो । ६ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको छ । हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको सचिव राकेश श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको गत बर्षको विजेता छोरेपाटन मावि हो ।

खेलकुदको शहर पोखरामा विगत २०५९ साल देखि खेलकुद, पर्यटन र सामाजि कार्यमा सक्रिय हुदै आएको क्लवले विश्वकै चर्चीत खेल फुटवल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्धेश्यले विगत २ बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको पूर्व अध्यक्ष पदम ढकालले बताउनु भयो । पोखरा १७ का वडा सदस्य बिक्रम गुरुङले वडाको खेलकुदलाई चलायमान बनाउन उक्त प्रतियोगिता सहित अन्य खेलकुद गतिविधिलाई वडाले प्रबद्र्धन तथा प्रमोशन गर्दै आएको बताउनु भयो । यस क्लबबाट बसन्त गौचन, विशन गौचन, राजेन्द्र तामाङ सहितका खेलाडी सहित ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लवको दाबी छ ।