नेपाल लिटरेचर फेस्टिभल फागुन ३ देखि पोखरामा

-


     पोखरा क्लिक     
     माघ २५ गते २०८० मा प्रकाशित



दीननाथ बराल

पोखरा २५, माघ

पोखरामा ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल आउँदो फागुन ३ देखि हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखराको लेकसाइड स्थित बाराहीघाटमा फागुन ७ गतेसम्म उक्त फेस्टिभल हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो ।

उक्त फेस्टिभलमा ५५ बिषयमा २ सय अतिथिहरूको सहभागी हुने तयारी गरिएको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले बताउनु भयो । नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको उल्लेख गर्दै उहाँले पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेको दाबी गर्नु भयो । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको लामिछानेको भनाई थियो । १० जना भन्दा विदेशबाट लेखक तथा कलाकार एवं साहित्यकारको कार्यक्रममा सहभागिता हुने भएको उहाँले जनाउनु भयो ।

नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष विमला भण्डारीले आर्थिक मन्दिको अबस्थामा पनि उक्त कार्यक्रम गर्नु ठुलो चुनौती रहेको बताउनु भयो । कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जगाइदिने अनि मेटाइदिने अवसर फेस्टिभलले दिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यता साथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताउनु भयो । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उहाँले बताउनु भयो । फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको उहाँको भनाई छ ।

फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने भएको छ । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकले विश्वास लिएको छ । उक्त अवसरमा वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमन ः एन इको इन द स्टोरी प्रदर्शनी हुने भएको आयोजक मध्यका एक भरत कोइरालाले बताउनु भयो । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुने भएको उहाँले दाबी गर्नु भयोे । सूर्य नेपाल गाथाको मुख्य सहयोगमा हुने फेस्टिभलमा पोखरा महानगरपालिका प्रवद्र्धक रहेको आयोजकका विकास रोका मगरले बताउनु भयो ।

यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुने भएको आयोजकले जनाएको छ । प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा सहभागि हुनुहुने भएको आयोजक समितिका सदस्य लामिछानेले बताउनु भयो । उहाँको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उहाँले फेस्टिभलमा चर्चा गर्नुहुने छ । विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै हुनुहुन्छ त्यस्तै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ ।

यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे लगायतको पनि उपस्थिति रहने भएको छ । नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने भएको छ । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदैछ । फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रम समेत हुने भएको छ ।