पोखरामा वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८० मा प्रकाशित



पोखरा २३, माघ

पोखरामा आगामी वैशाख १५ गते एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ ।
नेपाल ट्रायथोलन संघको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको मिति आगामी अप्रिल २७ लाई अन्तराष्ट्रिय ट्रायथोलन युनियनले आफनो आधिकारिक वेभसाईटमै राखिसकेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार च्याम्पियनसिप अन्तर्गत ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने छ । स्प्रिन्ट अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । अध्यक्ष श्रेष्ठका अनुसार पौडी फेवातालमा गराईने छ । दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं— गौरीघाटमा पुगेर टुंगिने पुरानै रुटमा यथावत हुनेछ ।

च्याम्पियनसिपका लागि पोखरामा तयारी सुरु भएको छ । सोमबार साँझ पोखरामा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठको उपस्थितिमा केन्द्र, प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुको बैठक बसेको थियो ।बैठकमा विगतका संस्करणहरु भन्दा यस पटक अझ भव्य बनाउने र तयारी सुरु गर्ने निर्णय गरेको छ । संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले यस वर्षको च्याम्पियनसिपमा विश्व ट्रायथोलन संघ र एशियन ट्रायथोलन एशोसिएसनका अध्यक्ष लगायत उच्चस्तरीय व्यक्तिहरुको सहभागिता हुने भएकाले भव्य हुने बताउनुभयो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा यहाँका उद्योगी व्यवसायीले अपनत्व लिने गरी प्रतियोगिता सञ्चालन हुने बताइन्छ ।

“एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनिसकेको छ । पोखराको प्रर्वद्धनका लागि च्याम्पियनसिले ठूलो भूमिका खेलेको छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो,“पोखरामा ठूलो इभेन्ट हुने तर पोखरेलीको स्वामित्व नहुने अवस्था विगतमा थियो । तर यस वर्ष हामी त्यस्तो हुन दिँदैनौँ । विश्वका सम्पन्न देशले गर्ने भन्दा कुनै कमी च्याम्पियनसिपमा हुन दिँदैनौँ ।” संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कोइरालाले पोखरा ट्रायथोलन च्याम्पियनसिपका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्ने बताउनुभयो । पोखरा सहित समग्र देशको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।
विगतमा विभिन्न कठिनाईका बाबजुद निरन्तरता दिइएको च्याम्पियनसिपमा पछिल्लो समय प्रदेश तथा जिल्ला संघ बनेर अझै सहज रुपमा सम्पन्न हुने कोइरालाले बताउनुभयो ।

नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका अध्यक्ष सुमन देवकोटाले पछिल्लो संस्करणमा १८ देशका ५३ जना खेलाडीले प्रतिस्पर्धा गरेकाले ट्रायथोलन च्याम्पियनसिप पोखरामा हुने सबैभन्दा बृहत खेल इभेन्ट भएको बताउनुभयो । च्याम्पियनसिप भव्य बनाउनका लागि विगतका कमजोरीहरु सुधार गरिने उहाँले स्पष्ट पार्नुभयो । “विगतका कमजोरीहरु दोहोरिन दिँदैनौ र यस वर्षको प्रतियागिता अझै भव्य बनाउने छौँ ।” देवकोटाले भन्नुभयो । पोखरामा सन् २०११ मा पहिलो पटक बेगनास तालमा च्याम्पियनसिप भएको थियो । त्यसपछि सन् २०१२ देखी फेवातालमा प्रतियोगिता हुँदै आएको छ । कोरोना कहरका कारण दुई वर्ष च्याम्पियनसिप रोकिएको थियो ।

गण्डकीको कार्यवाहक अध्यक्षमा शिशिर


नेपाल ट्रायथोलन संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा शिशिर सुवेदी चयन हुनुभएको छ । संघका अध्यक्ष सुमन देवकोटा गत पुसमा सम्पन्न अधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि सुवेदीले गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । कार्यवाहक अध्यक्ष सुवेदीको संयोजकत्वमा आसन्न एशियन कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपका लागि स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ । कार्यवाहक अध्यक्ष सुवेदीले च्याम्पियनसिपको तयारीका काम सुरु भएको जानकारी दिनुभयो ।

गत पुस २१ गते ललितपुरमा भएको संघको साधारण सभाले केन्द्रीय अध्यक्षमा निलेन्द्रराज श्रेष्ठलाई निरन्तरता दिएको थियो । त्यसैगरी बरिष्ठ उपाध्यक्ष दीपक कोइराला , उपाध्यक्षद्धयमा सुमन देवकोटा र धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा सिर्जना त्रिपाठी निर्वाचित हुनुभएको थियो । संघको प्रथम बैठकबाट उपाध्यक्षमा प्रकाश बराल, केन्द्रीय सल्लाहकार प्रमुखमा विश्वशंकर पालिखे, केन्द्रीय सदस्यमा अनिता रानाभाट र मेडिकल कमिशन सदस्यमा डा उमेस पराजुली चयन हुनुभएको थियो ।