प्रदेश स्तरीय दुई दिने सुरक्षा गोष्ठी पोखरामा सुरु, जनतालाई ठग्ने र देशमा भ्रष्टचार गर्ने कसैलाई छोडीदैनः गृहमन्त्री श्रेष्ठ

-


     पोखरा क्लिक     
     माघ १९ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १९, माघ,

पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित प्रदेशस्तरीय गोष्ठी आज देखि पोखराको एक होटलमा सुरु भएको हो ।

उक्त गोष्ठीको नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्दै जनतालाई ठग्ने र देशमा भ्रष्टचार गर्ने कसैलाई नछाडिने दाबी गर्नु भएको छ । जनताले चाहे अनुसारको न्याय सहितको आर्थिक सबृद्वि हासिल गर्न नसकिएको तर केही सुधारको काम भएको उहाँको भनाई थियो । जनताले आधाभुत बिकास चाहेको बताउदै उहाँले जनताले नयाँ राजनीतीक परिवर्तनसंगै आफ्नो जीवन यापनमा सहज चाहेको बताउनु भयो । अब हामीसंग समय नभएको बताउदै उहाँले अब देशमा फट्को मार्ने गरि अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

देशमा कसैले गलत गरे अब कसैले छुट नपाउने यो वा त्यो बाहनामा छुट दिन नहुने उहाँले दाबी गर्नु भयो । देशमा कसैलाई जालसाँझी, भ्रष्टाचार गर्ने छुट नभएको बताउदै गृहमन्त्री श्रेष्ठले अपराधी गतिविधिमा संलग्न भएकालाई कार्वाही गर्न निर्देशन दिनु भयो । मिटर व्याज समस्या सामन्तवादको निकृष्ट उदाहरण भएको बताउदै उहाँले २६ हजार सहकारी समस्याको हालसम्म ५ हजार हल भएको बताउनु भयो ।

देशमा विधिको शासन, शान्ति सुरक्षा, सुशासन कायम गर्नु पर्ने गृहमन्त्री श्रेष्ठले बताउनु भयो । धार्मिक शहिष्णुतालाई कायम गर्दै सबै धर्म संस्कृति सरंक्षण गर्नु चुनौती बढेको उहाँले बताउनु भयो । शान्ति प्रकृयाको बाँकी कार्यभार अझै बाँकी रहेको उहाँले बताउनु भयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीय मानसिकताको अन्त्य गर्नुपर्ने बताउनु भयो । गृह सचिब दिनेश भट्टराइको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो । गोष्ठीमा प्रदेशका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागिता रहेको छ । प्रदेशमा हाल रहेको शान्ति सुरक्षा सहित भावी शान्ति सुरक्षाको बिषयमा समेत छलफल हुने भएको मन्त्रालयले पोखराक्लिकलाई जनाएको छ ।