
दीननाथ बराल
पोखरा १७, माघ,
आहा रारा पोखरा गोल्ड कपको ५ पटकको विजेता थ्रि स्टार क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८० को उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा आज –बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लव माथी १–० कठिन जित निकाल्र्दै थ्रिस्टार क्लब फाईनलमा प्रबेश गरेको हो ।

थ्रि स्टारको जितमा दोश्रो रोजाईका खेलाडी (अतिरिक्त खेलाडी) दिपेश घलेले मैदान छिरेको ११ औं मिनेटमा उत्कृष्ट गोल गरी आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका हुन् । घलेले डिवक्समा पाएको वललाई पोष्ट चार्ज गर्दा विपक्षि गोलरक्षक अनिस देउलाको हातबाट फुत्केर दोश्रो वार हुदै बलले जाली चुमेको थियो । खेलको ६७ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान छिरेका घलेले खेलको ७८ औं मिनेटमा गोल गरे । जुन गोल नै निर्णायक बन्न पुग्यो ।

थ्रि स्टार आहा रारा पोखरा गोल्ड कपको ५ बर्ष पछि फाइनलमा प्रबेश गरेको हो । थ्रि स्टार क्लव यस अघि यस प्रतियोगितामा ५ पटक विजेता भएको टिम हो भने जाउलाखेल २०६८ सालमा दशौं आहा रारा पोखरा गोल्ड कपको फाइनलमा पुगेर पनि मनाङ्ख मस्र्याङ्घदी क्लवसंग पराजित भएको थियो ।

खेलमा थ्रि स्टारका बिबेक पौडेल म्यान अफ दी म्याच घोषित हुदै नगद दश हजारको साथमा ट्रफी हात पार्न सफल भए । जाउलाखेलले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा थ्रिस्टारसंग पराजित हुनु पर्यो । जाउलाखेलका सुनिल खड्का, हिसुव थपलिया, प्रदिप बुढाथोकीका केही प्रहार सदुपयोग हुन सकेन् । थ्रिस्टारले पाएका केही अवसर गुम्दा गोल अन्तर फराकिलो पार्न सकेन् ।
यसैबिच, भोलि (विहिबार) अन्तिम सेमिफाइनल खेलमा चर्च व्याईजले विभागिय टोली त्रिभुवन आर्मी क्लवसंग प्रतिष्प्रर्धा गर्ने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताए । विहिबारको विजेता टिम थ्रि स्टार क्लवसंग फाइनल खेल माघ २० गते खेल्ने भएको छ ।
यही माघ २० गते फाइनल खेल सहित प्रतियोगिता समापन हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओैं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले बताए ।