प्रेस सेन्टरको बिरगंजमा २० औं स्थापना दिवस सम्पन्न, एक स्थानीय तह एक पत्रकार उत्पादनमा जोड

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८० मा प्रकाशित


वीरगञ्ज, १६, माघ

प्रेस सेन्टर नेपालको २० ओै स्थापना दिवस पर्साको बिरगंजमा सम्पन्न भएको छ । सेन्टरले विभिन्न कार्यक्रम सहित आफ्नो राष्ट्रिय परिषद बैठक सहित स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले बताउनु भयो ।

बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल भएको उहाँले जनाउनु भयो । बैठकले एक स्थानीय तह एक पत्रकार, एआईको शहि ढंगले उच्चतम प्रयोग गर्ने, एक मिडिया एक महिला, युवालाई प्रोत्साहन गर्न पुरस्कार, विपन्न पत्रकार अक्षयकोष स्थापना गर्ने, बिमा कार्यक्रम लागु गर्ने, संगठन सुदृढीकरण गर्ने, लोककल्याणकारी बिज्ञापनमा दोब्बरले बृद्वी गर्न माग गर्ने लगायका बिषयमा सहभागीले सुझाव दिएका दिनु भएको थियो ।

सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छः प्रधानमन्त्री प्रचण्ड


यसैबिच, उक्त बैठक तथा स्थापना दिवसको अवसरमा सोमबार सो कार्यक्रममको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको गुनासो गर्नु भयो । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेकोले यसमा सचेत रहन उहाँले आग्रह गर्नु भयो ।

परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको बताउदै उहाँले त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्नेमा जोड दिनु भयो । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिनु भयो । सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा भने सामाजिक सञ्जालको दुरुपयोग बढेमा गुनासो गर्नु भयो ।

जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उहाँको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा ल्याउने गृह कार्य भईरहेको बताउनु ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास व्यक्त गर्नु भयो । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने योजना रहेको बताउनु भयो । पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

यसैबिच प्रेस सेन्टर नेपालको २० ओै स्थापना दिवसको अवसरमा पर्साको बिरगंजमा प्रभात फेरी निकालिएको छ । सेन्टरको स्थापना दिवस विशेष समारोहका बिच मनाउने तयारी भएको पूर्व सन्ध्यामा घण्टा घरदेखि सुरु भएको प्रभात फेरि आदर्श नगर हुँदै टाउन हलमा पुगेर समापन भएको थियो । आईतबार देखि सेन्टरका केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् बैठक वीरगञ्जमा संचालन भएको हो । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्ष सहित गरी करिब पाँच सय जनाको सहभागिता रहेको प्रेस सेन्टरले जनाएको छ। साथै गण्डकी प्रदेशबाट २२ जना उक्त कार्यक्रममा सहभागि भएको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका महासचिव सन्षोस गौतमले पोखराक्लिकलाई बताउनु भयो ।

उक्त अवसरमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीलाई सम्मान गरिएको छ । राससमा आबद्ध दवाडीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । प्रधानमन्त्री प्रचण्डले उहाँलाई सम्मान गर्नु भएको हो ।

साथै उक्त अवसरमा विमान दुर्घटनमा परी निधन हुनु भएका प्रेस सेन्टरका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पोखराका पत्रकार अनिल शाहीको स्मृतिमा स्मारिका समेत प्रकासन गरिएको छ । उक्त स्मारिकाको प्रधानमन्त्री एवं माओबादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले गर्नु भएको थियो ।